नेपालमा माघ ९ मा पहिलो व्यक्तिमा कोरोना पोजिटिभ देखियो । उनी सामान्य लक्षणमै निको भए । पहिलो संक्रमित देखिएको दुई महिनापछि मात्र दोस्रो संक्रमति भेटिइन् । यी दुवै विदेशबाट आएका थिए ।
यी दुवै जना कुनै स्वास्थ्य समस्याविनै निको भएका थिए । देशभरमा हालसम्म पुष्टि भएका कूल ७५ जना संक्रमितमध्येमा १६ जना कुनै जटिल समस्याविनै निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको स्वास्थ्य पनि सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
विश्वभर कोरोना संक्रमितको स्थिति हेर्दा वृद्व–वृद्वा,उच्च रक्तचाप, दम, मिर्गौला, मधुमेह, क्यान्सर र मुटु रोगीहरुमा जटिलता ल्याउँछ र मृत्यु गरेको अध्ययनहरुले देखाएका छन् । तर, नेपालमा वृद्व–वृद्वा तथा दीर्घरोगीहरु समेतमा कुनै समस्या नआएको चिकित्सक बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड– १९ संक्रमितमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, नाकवाट पातलो पानी बग्ने, सास फेर्न गाह्रो हुने र थकाइ लाग्नेजस्ता लक्षण हुन्छन् । तर, नेपालका प्रायः संक्रमितमा यी कुनै पनि समस्या देखिएन ।
नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. मदन उपाध्याय संक्रमितको अवस्थाले आफू आश्चर्यमा परेको बताउँछन् । प्रदेश– २ मा देखिएका संक्रमित सबै भारतबाट आएका थिए । नेपाल तथा दक्षिण एसियामै कोभिड– १९ को फरक परिणाम आएपछि विश्व स्वास्थ्य संगठनले कोभिडको लक्षण समेत थपिरहेको उनले बताए । या त कोभिड– १९ पचाउने प्रतिरक्षा क्षमता नेपालीको शरीरमै भइसकेको छ या भाइरसको जिनमै परिवर्तन भएको हुन सक्छ भन्दै डा. उपाध्याय भन्छन्– ‘यसको यकिन गर्न अनुसन्धान हुनु आवश्यक छ ।’
कोरोना संक्रमितमध्ये कुनैमा पनि लक्षण नै नदेखिएपछि कोभिड– १९ नयाँ प्रजातिको भाइरस भएकाले यस विषयमा अनुसन्धान हुनुपर्ने विज्ञहरू बताउँछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट डा. श्रवणकुमार मिश्रका अनुसार बीसीजी (क्षयरोग) विरुद्धको खोपले शरीरमा प्रतिरक्षा शक्ति सञ्चित भएको हुन्छ र उक्त प्रतिरक्षा शक्तिको कारणले संक्रमितमा समस्या नआएको हुन सक्छ ।
रगतमा सक्रिय ‘टी–लिम्फोसाइट’ सेलको माध्यमबाट कुनै पनि किसिमको भाइरस संक्रमित कोशिकालाई मार्न सक्ने हुनाले बीसीजी खोप लिएको व्यक्तिमा यो रोगको गम्भीर असर नभएको हुन सक्ने खबर पवित्रा सुनारको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।