कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी राख्ने भएको छ । व्यास गाउँपालिका– १ मा पर्ने गागा क्षेत्रमा पहिलो पटक नेपालको सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर विष्टले जानकारी दिए ।
भारतले नेपाली भूमि अतिक्रमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा वर्षौंदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकै बीओपी स्थापना गर्ने निर्णय उहिल्यै भएर पनि हालसम्म कार्यान्वयन हुन सकेको थिएन । उनले भने– ‘बीओपी स्थापनाका लागि आवश्यक बन्दोवस्तीका सामग्री, खाद्यान्न, भौतिक संरचनालगायतको व्यवस्थापन भइसकेको छ ।’
सशस्त्र प्रहरीको बीओपी तत्काल व्यास गाउँपालिका– १, छाङरुमा राख्ने गरी सबै तयारी पूरा भएको गुल्मपति विष्टले बताए । छाङरु गाउँभन्दा केही तल पर्ने गागा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदासम्म सशस्त्र प्रहरीको बीओपी छाङरुका एक स्थानीयको घर भाडामा लिएर बस्ने जानकारी उनले दिए ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा रक्षा, ओखेटोपहार ओसारपसार, मानव बेचबिखनलगायत गतिविधि सशस्त्र प्रहरीले पूर्णरूपमा नियन्त्रण एवं न्यूनीकरण गर्ने उनको भनाइ छ । सो क्षेत्रमा नेपाल प्रहरीको चौकी छ तर ६ महिना मात्रै उनीहरू त्यहाँ बस्ने गरेका छन् । र, नेपाल प्रहरीले सीमा सुरक्षाको काम समेत नगर्ने खबर सुन्दरसिंह धामीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।