उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर–कोठामा भित्रिनेसम्मलाई थप कडाइ गरिएको छ । मङ्गलबार साँझ काठमाडौंको चन्द्रागिरि नगरपालिका, मध्यपुर थिमी र चाँगुनारायण नगरपालिकामा एक–एक जना गरी तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।
सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ । कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै, निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको र सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको खबर नगेन्द्र सापकोटाको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।