२५ वर्षीय युवकले १३ वर्षीया दलित बालिकालाई बलात्कार गरेबापत उसैसँग बिहे गर्ने ‘सजाय’ सुनाइएको छ । २१औं शताब्दीमा यस्तो ‘न्याय’ हाम्रै देशमा, हाम्रै समाजमा सुनाइएको हो ।
जसले बलात्कार गर्यो, उसैकी ‘श्रीमती’ हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले ! दलित परिवारको पक्षमा बोलिदिने कोही भएन, त्यसैले समाजको ‘न्याय’ मानेर बलात्कारी पुरुषको पछिपछि गएकी बालिका त्यही साँझ गाउँको रूखमा भेटिइन्, झुन्डिएको अवस्थामा ।
घटना हो रुपन्देही देवदहको । शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासी घरबाट हराइन् । बुबाको निधन भइसकेको छ । आमाले हारगुहार गरिन् । गाउँले जम्मा भएर खोज्न हिँडे । राति ११ बजे उनी नजिकैको खरबारीमा भेटिइन्, उनको साथमा थिए स्थानीय २५ वर्षीय वीरेन्द्र भर ।
भरले बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको भनाइ छ । तर, १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीयरूपमा बलात्कार हो, जघन्य अपराध हो । यो घटनाले बालिकाको बिहे गराइदिने स्थानीय ‘जनप्रतिनिधि’ को न्याय मात्र होइन, हाम्रो समाजको चेतना नै रूखमा झुन्डिएको सन्देश दिएको खबर प्रकाश धौलाकोटीको बाइलाइनमा बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।