आर्थिक अनियमितता गरेको र जिम्मेवारीमा हुँदा कानुनत पालना गर्नुपर्ने प्रक्रिया र दायित्व पूरा नगरेको भन्दै सेनाको हवाई महानिर्देशनालयका तत्कालीन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) लाई नेपाली सेनाले कारबाही गरेको छ ।
श्रेष्ठले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन, २०६३ अनुसार नसिहत तथा रकम असुल उपर गर्ने फैसला शुक्रबार बसेको समरी जनरल सैनिक अदालतले सुनाएको छ । हवाई निर्देशक हुँदा श्रेष्ठले ५८ लाख ९५ हजार ५ सय ९० रुपैयाँको कुनै हिसाब नराखी अनियमितता गरेको भन्दै सो रकम श्रेष्ठबाट असुल गर्न सैनिक अदालतले आदेश दिएको छ ।
सोही मुद्दामा अन्य ८ जना सैनिक अधिकृतहरुलाई सैनिक अदालतले सचेत गराएको छ भने एक जना अधिकृत सहित ९ जना अन्य दर्जालाई सफाइ दिने गरी फैसला गरेको छ । सैनिक हवाई महानिर्देशनालयमा विभिन्न कमिीकमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको चैत ४ को रायसहितको प्रतिवेदनका आधारमा श्रेष्ठसहित १९ जना सैनिक अधिकारीमाथि सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले बुधबार उक्त फैसला गरेको थियो ।
सोही मुद्धामा अन्य ८ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारीरुपमा सम्पादन नगरेको ठहर गरी सचेत गराउने फैसला सैनिक अदालतले गरेको छ । सेनाले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता गर्ने एक जना महासेनानी (फुल कर्णेल) र प्रमुख सेनानी (लेफ्टनेन्ट कर्णेल) सहित पाँच जनालाई केही दिन कारबाही गरेको थियो ।
त्यस्तै, भ्रष्टाचार गरेको आरोपमा सेनाले सहायकरथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई वीरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा हुँदा कोष दुरुपयोगको आरोपमा छानबिनका लागि नियन्त्रणमा राखेको छ । उनीहरुमाथि छानबिन भइरहेको सेनाले जनाएको खबर नागरिक अनलाइनले शनिबार प्रकाशित गरेको छ ।