लकडाउनकै बीचमा कर तिर्न सरकारले ताकेता गरेपछि त्यसको विरोधमा सत्तारुढ दलकै युवा नेता–कार्यकर्ताले शरीरमा लगाएका कपडा फुकालेर वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेकपाको वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा बुधबार साँझ घन्टाघरमा सरकारको विरोधमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा वीरगञ्जका व्यापारी र पसले पनि सहभागी थिए । सरकारलाई कर तिर्न उद्योगी–व्यापारीसँग केही पनि बाँकी नरहेकाले कपडा फुकालेर त्यही कपडा करका रुपमा सरकारले लेओस् भनेर प्रदर्शन गरिएको प्रदर्शनकारीको भनाइ छ । लकडाउनले महिनौंदेखि व्यापार–व्यवसाय ठप्प रहका बेला सरकारले राहतको प्याकेज दिनु पर्नेमा उल्टै करका लागि ताकेता गरेकाले विरोधमा प्रदर्शन गरिएको अन्सारीले बताए ।
सरकारलाई कर तिर्न उद्योगी–व्यापारीसँग केही पनि बाँकी नरहेकाले कपडा नै करका रुपमा सरकारलाई सांकेतिक रुपमा बुझाएर प्रदर्शन गरिएको उनले बताए । लकडाउन थप्दै जाने सरकारको रवैयाले जनता भोकै मर्नुपर्ने अवस्था आइसकेको भन्दै त्यसमाथि करका लागि ताकेता गर्दै दिन तोक्ने अर्थमन्त्रीको नीति अदूरदर्शी देखिएको अन्सारीले टिप्पणी गरे ।
लकडाउनले नीजि क्षेत्र धराशायी भएकाले सरकारले लकडाउनमा उद्योगी–व्यापारीका लागि कर मिनाहा गर्नुपर्ने आफ्नो माग रहेको अन्सारीले बताए । यसका साथै निजी क्षेत्र र त्यहा संलग्न मजदुरका लागि सरकारले विशेष राहतको प्याकेज घोषणा गर्नुपर्ने पनि उनले बताएको खबर अन्नपूर्णपाेस्ट अनलाइनले प्रकाशित गरेकाे छ ।