newskoseli.Com

‘महँगी बढाए बजारमा हस्तक्षेप गर्छौं’ : आपूर्ति मन्त्रीको चेतावनी

बजेट भाषणपछि मूल्यवृद्धि हुन सक्नेप्रति सचेत भई सरकारले छड्के रूपमा बजारको अवस्था अध्ययन गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् ।

उनले भने– ‘तीन–चार दिनसम्म उपत्यकालगायतका ठाउँमा ठूलादेखि साना व्यापारिक फर्म र खाद्यान्न उद्योगको गहन तथा सूक्ष्म अध्ययन गर्छौं, कैफियत भेटियो भने बजार हस्तक्षेप गरेर अनुगमन गरी कानुनअनुसार कडा कारबाहीको प्रक्रियामा जान्छौं ।’ अहिले दैनिक उपभोग्य वस्तुको भाउ महँगो हुनुपर्ने कुनै कारण नभएको भन्दै कसैले पनि मूल्य बढाउन नपाउने र बढाएको प्रमाणित भए कारबाहीको भागी हुनैपर्ने मन्त्री भट्टले बताए ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सरकारले भारतबाट आउने चामललगायतका खाद्यान्नमा एक प्रतिशत भन्सार वृद्धि गरी नौ प्रतिशत पुर्‍याएको छ । यसअघि भारतबाट आउने चामललगायतमा भन्सार दर आठ प्रतिशत थियो । भन्सार वृद्धिको असर हरेक खाद्यान्नमा पर्न थालेको छ ।

स्वदेशमा सञ्चालन भएका चामल मिल र व्यापारीले एक प्रतिशत वृद्धि भएको भन्सार दरलाई आधार बनाएर चामल, दलहनलगायतका खाद्यवस्तुको भाउ बढाउन थालेका छन् जबकि भन्सार स्वदेशी मिल सञ्चालक र उत्पादक उद्योग कसैलाई पनि लागू हुँदैन । विभिन्न बहानामा बजार भाउ बढ्न सक्नेप्रति सचेत भएर हाल बजारको यथार्थ अवस्था बुझ्न अध्ययन गरिएको मन्त्री भट्टले बताए ।

कुनै पनि बहानामा बजार भाउ उचाल्ने र कालोबजारी गर्ने व्यापारिक उद्योग कारबाहीको भागिदार हुनैपर्ने उनको भनाइ छ । भारतीय तरकारी बढी आपूर्ति हुँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर फाल्नुपर्ने अवस्था आएको कुरामा पटक्कै सत्यता नभएको उनले दावी गरे । मन्त्री भट्टले भने– ‘हामीले सकेसम्म स्वदेशकै उत्पादनलाई प्राथमिकता दिनुपर्छ भनेर स्थानीय सरकार र तरकारी किसानका सहकारीसँग समन्वय गरेर हाल स्थानीय उत्पादनको आपूर्ति शृङ्खला बनाएर नेपाली किसानबाट उत्पादित तरकारी बजारमा ल्याउने व्यवस्था गरेका छौं ।’

एकाध ठाउँमा त्यस्ता समस्या देखिए पनि सबैतिर यो अवस्था नभएको दाबी गर्दै देशमा लकडाउन सुरु हुँदा तरकारीको आयात बढे पनि पछिल्ला सातामा आयातको दर धेरै नै घटेको उनले दाबी गरे । तर, आपूर्ति मन्त्रालयको आयातको तथ्याङ्क नेपालमा लकडाउन सुरु भएको पहिलो साता (चैत ११–१७) देखि दसौं साता (जेठ १३–१९) सम्म तरकारी आयात चार प्रतिशतले बढेको देखिन्छ । पहिलो साता ६ हजार २ सय ८९ मेट्रिक टन तरकारी आपूर्ति भएकामा दसौं सातामा ६ हजार ६ सय ४५ मेट्रिक टन आपूर्ति भएको खबर सीता शर्माको बाइलाइनमा गोरखापत्र अनलाइनले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर