अर्को निर्णय नभएसम्मका लागि लकडाउन कायम रहँदासम्म राजधानीभित्र बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाभाइरस (कोभिड– १९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर लकडाउन हुँदै आएको छ । अत्यावश्यक वस्तु तथा सेवा बाहेक बजार–पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने– ‘सरकारले अर्को निर्णय नगरेसम्म लकडाउनमा बजार तथा पसल खोल्न मिल्दैन, त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।’
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा छलफलपछि मात्र व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा प्रक्रिया अगाडि बढ्ने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताएको खबर देवबहादुर कुँवरको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।