सुदूरपश्चिमका पाँच जनाले क्वारेन्टिनमै ज्यान गुमाएका छन् । भारतका विभिन्न सहरबाट फर्केका उनीहरुको उपचार र उचित हेरचाह नपाएर ज्यान गएको हो । क्वारेन्टिनबाट सकुशल घर पुग्ने र कोरोनाबाट जोगिने उनीहरुको सपना तुहिएको मात्रै होइन, जीवन नै चुँडिएको छ ।
जेठ १५ देखि बाजुराको खप्तड छडेदह गाउँपालिका– ७ का ६५ वर्षीय पुरुष मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका थिए । शनिबार बिहान उनको मृत्यु भयो । ‘उनी दमका बिरामी थिए, उनमा अरु केही समस्या थिएन,’ वडाध्यक्ष खगेन्द्र रावतले भने– ‘हिजो (शुक्रबार) साँझ दम बढेको थियो, औषधि पनि खुवाएका थियौं, बिहान मृत्यु भइहाल्यो ।’ उनलाई कोरोना संक्रमण भए–नभएको नमूना जाँचपछि मात्र थाहा हुनेछ ।
त्यस्तै, जेठ १८ मा भारतबाट आमा–बुबासँगै फर्केकी बाजुरा बुढीगंगा नगरपालिका– १ की दुई वर्षीया बालिकाको कोरोना संक्रमणबाट ज्यान गएको थियो । बाजुरा अस्पतालको आइसोलेसनमा उनको मृत्यु भएको थियो । मृत्युपछि मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिका र उनका आमा–बुबालाई जेठ १४ मा बुढीगंगा नगरपालिका धुरालसैनमा मावि क्वारेन्टिनमा राखिएको थियो । घरमा पाइला टेक्न नपाईकन उनको ज्यान गयो । ज्वरो, श्वा–श्प्रस्वास र पखालाको समस्या देखिएपछि ती बालिकालाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको थियो । ती बालिकाकी २३ वर्षीया आमामा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
यसैगरी, भारतबाट आमा–बुबासँग फर्केका डडेल्धुराको नवदुर्गा गाउँपालिका– ३ का ७ वर्षीय बालकको पनि जेठ १८ मा क्वारेन्टिनमै मृत्यु भयो । मुम्बईबाट अघिल्लो दिन आएका उनीहरुलाई डडेल्धुरा बहुमुखी क्याम्पस क्वारेन्टिनमा राखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि अस्पताल लैजाने क्रममा ती बालकको बाटामै मृत्यु भएको थियो । ‘सीमानाका प्रवेश गर्न पाएपछि सबै जना धेरै खुसी भएका थिए, घर नपुग्दै क्वारेन्टिनमै बालकको ज्यान गएपछि आमा–बुबाको खुसी पनि बीच बाटामै खोसियो’– नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र बिष्टले भने ।
बैतडीको पुर्चौडी नगरपालिका– ४ का हरिश लुहार पञ्जाबमा मजदुरी गर्थे । पत्नीलाई पनि उनले आफूसँगै पञ्जाब लगेका थिए । लकडाउन भएपछि उनी पनि उतै रोकिए । सीमानाकाबाट प्रवेश पाउने भएपछि उनीहरू नेपाल आए । सीमाबाट भित्रिएपछि स्थानीय तहले व्यवस्था गरेको गाडी चढेर डेढ वर्षका छोरा र पत्नीसहित हरिश गाउँकै मालिका मावि क्वारेन्टिनमा पुगे । क्वारेन्टिनमा पुगेपछि घर जान पाइने आशमा खुसी भएका हरिशमा पनि बज्रपात आइपर्यो । मुटुको समस्या रहेकी उनकी २२ वर्षीया पत्नी सुनिताको नियमित सेवन गर्ने औषधि नपाएर जेठ १९ मा क्वारेन्टिनमै ज्यान गयो । ‘अन्य छोराछोरीसँग भेट गर्न नपाईकन क्वारेन्टिनमै उनको ज्यान गयो,’ हरिशले भने– ‘हाम्रो सबै खुसी बीच बाटामै खोसियो ।’
उनीहरु जेठ १६ मा गौरीफन्टा नाका हुँदै गाउँ गएका थिए । एक वर्षदेखि मुटुको बिरामी रहेकी सुनिताको नियमित खाने औषधि सकिएको १२ दिन भएको थियो । नियमित खाँदै आएको मुटु रोगको औषधि सकिएपछि उनले धेरैतिर हारगुहार गरिन् । कतैबाट पनि व्यवस्था नभएपछि ज्यानै गुमाउनु पर्यो ।
डडेल्धुराको असिग्राम आधारभूत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी गन्यापधुरा गाउँपालिका– २ की ३० वर्षीया सविता विकको पनि जेठ २० गते राति त्यहीं मृत्यु भयो । चार दिनअघि भारतबाट पति, अढाई वर्षका छोरा र ६ महिनाकी छोरीसँग आएकी उनी गाउँपालिकाले निर्माण गरेको असिग्राम आधारभूत विद्यालय, रौनाकोटको क्वारेन्टिनमा बसिरहेकी थिइन् । शौचालय जाँदा बेहोस भएलगत्तै उनको मृत्यु भएको थियो । ‘कुनै लक्षण देखिएको थिएन, शौचालय जाँदा मुखबाट रगत बान्ता भएको थियो’– वडाध्यक्ष इन्द्रबहादुर कार्कीले भनेको खबर दिलबहादुर छत्यालकाे बाइलाइनमा नागरिकन्युज डटकमले प्रकाशित गरेको छ ।