newskoseli.Com

विदेशबाट ल्याइने २४१४८ को सूची तयार : कुन देशबाट कति ? (विवरणसहित)

विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क सरकारले भर्खर सार्वजनिक गरेको छ । कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क भने सरकारले सोमबार मात्रै बाहिर ल्याएको छ ।

सरकारले तोकेको प्राथमिकताका सूचीको आधारमा चार्टर्ड उडानमार्फत तत्काल २४ हजार १ सय ४८ नेपालीलाई स्वदेश ल्याउन लागिएको छ । विदेशस्थित नेपाली दूतावासले पहिलो चरणमा स्वदेश पठाउनैपर्ने नागरिकको विवरण परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । सरकारले यसअघि समस्यामा परेकालाई विदेशबाट तत्काल स्वदेश ल्याउने भने पनि कुन देशबाट कतिलाई ल्याउने भनेर सङ्ख्या खुलाउन सकेको थिएन ।

दूतावासबाट अहिलेसम्म उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मलेसिया र खाडीका ६ देशबाट लगभग २० हजार नागरिक पहिलो चरणमा ल्याउनुपर्ने अवस्था रहेको छ । पहिलो चरणमा साउदी अरेबियाबाट ६ हजार ६ सय २४, मलेसियाबाट ६ हजार ४ सय २५, कतारबाट ३ हजार ६ सय ८, संयुक्त अरब इमिरेट्स (यूएई) बाट ४ सय १०, बहराइनबाट ३ सय ७२, ओमानबाट ६ सय ५६, कुवेतबाट २ हजार ९ सय ९१ जना रहेका छन् ।

यस्तै, अस्ट्रेलियामा कोरोनाका कारण समस्यामा परेका १ हजार ३ सय र माल्दिभ्सबाट २ सय ७४ जना नेपालीलाई तत्काल ल्याउनुपर्ने भएको छ । नेपालीको आकर्षक रोजगारीको गन्तव्य मुलुक मानिने दक्षिण कोरियाबाट २ सय ८२, साइप्रसबाट ४ सय ७१ र जापानबाट ९ सय १६ जनालाई ल्याउनुपर्ने भएको छ । बङ्गलादेशबाट १ सय ८०, पाकिस्तानबाट १ सय २५ र श्रीलङ्काबाट ३६ जना ल्याउनुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकाबाट अहिले स्वदेश फर्काउनुपर्ने नेपालीको सङ्ख्या ६ सय ४६, क्यानडाबाट ७८ र इजरायलबाट ३९ जना छ । पहिलो चरणमा युगाण्डाबाट १ सय ६१, नाइजेरियाबाट ९७, दक्षिण सुडानबाट १८, सुडानबाट ३१, मोरक्कोबाट ६३, थाइल्यान्डबाट ३ सय ५७, सिङ्गापुरबाट ६१, कम्बोडियाबाट ४१, भियतनाम, लाओस, डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डबाट ७६ जनाको उद्धार गर्नुपर्ने सूची दूतावासहरूले परराष्ट्र मन्त्रालयलाई पठाएका छन् । अघिल्लो शुक्रबार यूएईबाट १ सय ६८ र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किसकेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर