धेरैलाई लाग्न सक्छ– लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र अनकन्टार होला । भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ । यताका कसैले टेक्न र देख्न नपाइरहेको उक्त भूमिबारे धेरैमा कौतुहलता बढ्दो छ । प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भूभागले ।
२०५८ मा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए । ठूलै अनुरोध गरेर उनी त गए तर सुरक्षाकर्मी लैजान पाएनन् । भयंकर खानतलासीपछि गएका लेखक सम्झन्छन्– ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको गर्यै छ ।’
उत्तर चीनको सीमानामा करिव ७० किलोमिटर हिमाली पर्वत–शृंखला छ, यसलाई लिम्पियाधुरा पर्वत–शृंखला भनिन्छ । त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ । लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ । लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ । छाङरु र तिङकरको पश्चिमी मोहडामा ॐ हिमाल छ, यो विशाल पर्वत कालापानी–लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ । यसको बीचमा हिउँले नै ‘ॐ’ लेखिएको छ ।
भारतले ठूलो संख्यामा अर्धसैनिक बल राखेको कालापानी भने समथर छ । भारतीय अर्धसैनिक बाह्रै महिना त्यहाँ बस्छन् । भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ । र, भारतले तयही काली मन्दिरबाट उम्रिएको सानो खोल्सोलाई नै ‘काली नदी’ भन्छ । त्यहाँ बंकर छ, हेलिकप्टर बस्ने ठाउँ छ । जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको खबर सुरेन्द्र काफ्लेको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।