सरकारले लकडाउन खुकुलो बनाउँदै सवारी साधनमा जोर–बिजोर प्रणाली नियम लागू गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने उपत्यकाका सीमानाकामा देखिएको छ । उपत्यकामै आफ्नो पसल–व्यवसाय रहेको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ ।
लकडाउन खुकुलो पारिएपछि उपत्यकाका नाकाहरूमा ओहोरदोहोर गर्नेहरूको भीड बढेको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने १ सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ । १ सय ५ जना भने पास देखाएर सोमबार उपत्यका प्रवेश गरेका छन् । तर, केहीले भने उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै बहाना पनि बनाउने गरेका छन् ।
बिनापास टाढाबाट आए पनि फर्काइने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ । ‘पास नलिईकन आउने सवारी साधनलाई हामीले उपत्यका छिर्न दिएका छैनौं,’ उनले भने– ‘तर उपत्यकामा खुकुलो पारिएसँगै त्यसको प्रत्यक्ष असर नाकामा परेको छ ।’
खुकुलिएको लकडाउन व्यवस्थापनसम्बन्धी समस्याबारेको यो खबर शिवहरि घिमिरेको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।