संविधान संशोधनमा मतदान भएको दिन संसदमा अनुपस्थित भएका सांसदहरूलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्पष्टीकरण सोधेको छ । सरकारले जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिमार्जन गर्नका लागि गरिएको संविधानको दोस्रो संशोधन विधेयकमाथि जेठ ३१ मा मतदान भएको थियो ।
मतदानमा नेकपाका ४ सांसद अनुपस्थित थिए । उनीहरु चारै जनालाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले मङ्गलबार स्पष्टीकरण सोधेका छन् । प्रतिनिधिसभामा भएको मतदानमा हरिबोल गजुरेल, गोपालबहादुर बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित थिए । यी सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ– ‘जेठ ३१ को प्रतिनिधिसभा बैठकमा उपस्थित भई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्विप जारी गरेकामा उक्त दिन तपाईं प्रतिनिधिसभाको बैठकमा बिनापूर्वसूचना अनुपस्थित भई संविधान संशोधनको मतदान प्रक्रियामा नै सहभागी नरहनुभएको देखियो । अतः दलको विधान, दफा ३० को उपदफा १ र २ अनुसार के–कति कारणले अनुपस्थित हुनु भएको हो ? पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनुहुन निर्देशन गरिन्छ ।’
संविधान संशोधनका दिन रहस्यपूर्ण तरिकाले ‘गयल’ सांसदहरुलाई दलले मागेको स्पष्टीकरणसम्बन्धी यो खबर गोरखापत्र अनलाइनले बुधबार प्रकाशित गरेको छ ।