राजधानीका पहिलेका व्यस्त बजार जानुहोस्– लाग्छ, अहिले देशमा कोरोना महामारी छ र ! जताततै भीडैभीड छ। चोक–चोकमा बन्द गरिएका ट्राफिक लाइट खोलिएका छन्, सवारी जाम सुरु भइसकेको छ । सडकका पेटीमा पैदलयात्रुको चाप छ ।
अर्कातिर देशमा कोरोना संक्रमण प्रत्येक दिनजसो बढ्दो गतिमा छ । यससँगै चुनौती थपिएको छ– अब जोगिने कसरी ? संक्रमणको जुन उचाइमा लकडाउन गरिनुपर्थ्यो, खोल्नुपर्ने बाध्यता आयो । जतिबेला खोल्दा पनि फरक पर्दैनथ्यो, पूर्ण लकडाउन गरियो । अर्थात्, जोखिमपूर्ण समयमा बजार खचाखच हुँदै गएका छन् तर सर्वसाधारणमा त्यसको कुनै परवाह नभएको आभाष हुन्छ ।
इन्द्रचोकका व्यापारी हरि श्रेष्ठ बुधबार ग्राहक कुरिरहेका थिए । किनमेल गर्ने कम भए पनि ओहोरदोहोर गर्ने टन्नै देखिन्थे । साँघुरो गल्लीमा आपसमा ठोक्किँदै मान्छे अघि बढिरहेका थिए । ‘हाम्रो ठाउँ नै साँघुरो छ,’ उनले भने– ‘बाटो पनि सानो छ, हामीलाई दूरी कायम गर्न एकदम मुस्किल छ; पसलमा किनमेल गर्न आउनेहरू पनि सचेत भइदिए कम जोखिम हुन्थ्यो ।’
असन, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा पुरानै अवस्था जस्तो मानिसको चाप देखिन थालेको छ । सरकारले असार १ देखि लकडाउन खुकुलो बनाएसँगै उपत्यकाका प्रायः पसल खुल्न थालेका छन् । केही दिनयता असनका कपडा, भाँडाकुँडा, गहना, खुद्रालगायत सबै पसल खुलेका छन् । कामदार पनि आउन थालेका छन् । भारी बोक्ने मजदुर पनि पसलका सामान ओसार्ने कामको खोजीमा हिँडिरहेका देखिए ।
सडकमा हिँड्नेको चाप पनि बढेको देखियो । किनमेलमा आउनेभन्दा हिँडडुल गर्ने धेरै भएको पसलेले बताएको खबर उपेन्द्र अर्यालको बाइलाइनमा बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।