जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा. भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ । तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन् । उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन् ।
विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यतिखेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो । रूकुम पश्चिमको सोतीमा जेठ १० मा ज्यान गुमाएका ६ जनाको पोस्टमार्टम रिपोर्टमा डाक्टरले जालझेल गरेको ‘पीडित’ पक्षको आरोप छ । शवको प्रकृति र प्रहरीको मुचुल्काभन्दा ‘नियोजित तरिका’ ले फरक रिपोर्ट तयार गरेको भन्दै ‘पीडित’ पक्ष डाक्टरविरुद्ध ‘आन्दोलित’ छन् ।
पोस्टमार्टम रिपोर्टको विरोधमा उत्रिएकामाथि प्रहरीले हवाईफायर र लाठी प्रहार गर्दा पाँच जना घाइते थिए । प्रदर्शनकारीले अस्पतालका सिसा फुटाइदिएका छन् । अस्पताल तोडफोडबाट एक्सरे मेसिन बिग्रिएको छ । डाक्टरमाथि जुनसुकै बेला आक्रमण हुन सक्ने भन्दै स्थानीय प्रशासनले अस्पतालको आवास नछाड्न निर्देशन दिएको छ ।
अस्पतालमा उनीहरूको सुरक्षाका लागि सशस्त्र र जनपद प्रहरी खटिएको खबर राजेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।