सार्वजनिक सवारी साधन सुचारु गर्न एक साताभित्र यातायात व्यवस्था विभागले नयाँ निर्देशिका टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको भन्दै एक सातामा टुङ्गो लगाइने विभागले जनाएको छ ।
यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । तर, सार्वजनिक यातायात कहिलेदेखि सञ्चालन गर्ने भन्ने कुराको सरकारले टुङ्गो नगर्दा अन्योल रहेको विभागले जनाएको छ । सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको कुनै जानकारी विभागलाई दिइएको छैन तर लकडाउन बिस्तारै खुकुलो बनाउँदै गएपछि यातायात पनि सञ्चालन हुन्छ होला भन्ने अनुमानका आधारमा विभागले काम गरिरहेको छ ।
हालकै अवस्थामा सार्वजनिक यातायात सञ्चालन गर्नुपरे कसरी गर्ने भनेर विभागले नयाँ निर्देशिका तयार गरेको हो । तर, यातायात व्यवसायीले नयाँ निर्देशिकामा असहमति जनाएपछि छलफल लम्बिएको खबर लक्ष्मण दर्नालको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।