प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण यहाँ समेत कोरोनाभाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकाभित्र बिहीबार मात्र ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंका २, ललितपुरका १ र भक्तपुरका ३ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौंमा फेला परेका सङ्क्रमित कपन बालुवाखानीका ४५ वर्षका पुरुष र तीनकुनेकी ३४ वर्षकी महिला हुन् । उनीहरू केही दिनअघि मात्र काठमाडौं भित्रिएका हुन् । आफन्तको सल्लाहमा कोरोना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
त्यस्तै, भक्तपुरको व्यासीका २४ वर्षका पुरुष, टीकाथलीका ५० वर्षका पुरुष र भक्तपुर नगरपालिका– १६ का २२ वर्षका पुरुषमध्ये कोही बाहिरबाटै आएको जनाइएको छ । ललितपुरमा फेला परेका सङ्क्रमितका बारेमा भने जानकारी लिने कार्य भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
उपत्यकामा देखिएका ६ सङ्क्रमितमध्ये ४ जनालाई उपचार गर्न पाटन अस्पताल र २ जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको छ । उपत्यकामा बाहिरबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिन थालेपछि थप सतर्क हुन दबाब परेको खबर देवबहादुर कुँवरको बाइलाइनमा शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।