राजधानी काठमाडौंमा बसेर घरमा कुकुर पाल्ने रहर गर्नुभएको छ ? कुकुरलाई हातले डोर्याउँदै बिहानै दुई–चार किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ?
यस्तो हो भने अब तपाईंले आफ्नो कुकुरलाइृ स्थानीय तहमा दर्ता गराउनु पर्नेछ । साथै, केही जिम्मेवारी पनि थपिएका छन् । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या रोगी भएपछि सडकमा छाडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावीरूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि काठमाडौं महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रमबाटै नयाँ व्यवस्था गरेको छ ।
महानगरपालिकाका अनुसार स्थानीय तहमा दर्ता नगरी कुुकुुर पाल्न पाइने छैन । महानगरपालिकाभित्र बसेर कुकुर पाल्ने सोख भएका मानिसले पहिले आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । पहिल्यैदेखि कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नुपर्ने खबर सरोज आचार्यको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।