रुई गाउँ नेपालको थियो, खोई कसरी हो, चीन प्रशासित तिब्बतको अधीनमा पुग्यो । पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे । उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन् ।
त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन् । साम्दोका वासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन् । त्यताका वासिन्दा पनि साम्दो, सामा गाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन् । दुवै गाउँका वासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने गरेको साम्दोका बेलबहादुर गुरुङ बताउँछन् ।
‘साम्दोका वासिन्दासँग उताको बोर्डर पास हुन्छ, रुईवासीजस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ,’ ३३ वर्षसम्म शिक्षण पेसा गरेर बसेका गुरुङ भन्छन्– ‘उताका व्यापारी पनि घोडा, याक, चौंरीमा सामान बोकाएर ल्हो, बिही, प्रोकसम्म व्यापार गर्न आइपुग्छन् ।’ उनका अनुसार यी दुई गाउँका वासिन्दा लजुङ भञ्ज्याङको छोटो बाटो आउजाउ गर्छन् ।
एउटै गाउँ छुट्टिएर दुईवटा हुनुपर्दा साम्दोवासीको चित्तदुखाइ छ । आफ्नो पैतृक थलो तिब्बतको अधीनमा हुँदा कसैको पनि चित्त नबुझेको स्थानीय निमादोर्जे लामा बताउँछन् । ‘पहिले त हामी एउटै हो नि,’ चुमनुब्री गाउँपालिका– १ का जनप्रतिनिधि समेत रहेका लामा भन्छन्– ‘तर, पछि चाइनाको भयो, नेपाल सरकारले आफ्नै गाउँ किन तिब्बतलाई दियो ? किन दाबी गरेन ? हामीले केही बुझ्न सकेनौं ।’
नेपाली भूमिमाथिको चौतर्फी अतिक्रमणको अर्को पाटोसम्बन्धी यो खबर शिव उप्रेतीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।