newskoseli.Com

यसरी बच्याे फुटबाट नेकपा : के भयाे सहमति, कसरी मिल्यो कुरा ?

सत्तारूढ नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको बताइएको छ । स्थायी कमिटीको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री खड्ग ओलीको राजीनामा मागेपछि विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लगातारको छलफल र संवेदनशीलताले पार्टीलाई विभाजन हुनबाट बचाएको नेताहरूले बताएका छन् ।

दुई अध्यक्षबीच लामो समयसम्म भएको ‘वान टु वान’ छलफल र संवादले नेकपामा देखिएको संकटलाई समाधान गरेको दुई अध्यक्षहरूकै पछिल्ला अभिव्यक्तिले पुष्टि गरेको छ । अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताका पक्षमा दिएका पछिल्ला अभिव्यक्तिले नेकपामा चुँडिन लागेको एकताको डोरी जोडिएको विश्वास अन्य नेता तथा कार्यकर्ताहरूले गरेका छन् । नेकपा फुट्छ कि भन्ने चिन्ताले देशभरका कार्यकर्ता र दोस्रो तहका युवानेताले दबाब दिँदै आइरहेका छन् ।

सोही दबाबकै कारण अध्यक्षद्वय पार्टीलाई एकजुट बनाएर लैजाने निष्कर्षमा पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै पार्टीभित्रको समस्या छलफलमै टुंगो लगाउने प्रतिबद्धता जनाएका थिए । कुनै पनि राजनीतिक दलभित्र हुने बहस र विवादलाई निष्कर्षमा पुर्‍याउने काम सम्बन्धित पार्टी र नेताको भएको भन्दै सहज समाधान निस्कने विश्वास ओलीले दिलाएका थिए ।

पार्टीभित्र पछिल्लो समय चर्किएको विवादका विषयलाई लिएर पार्टीभित्र हुने छलफल, बहस र विमति नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया समेत भएको भन्दै ती सबै समस्या समाधान हुने दृढता उनले व्यक्त गरेका थिए । आम नेता तथा कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गर्दै पार्टीभित्र देखिएका तमाम विवाद छलफल र संवादको माध्यमद्वारा हल गरिने उनले बताएका थिए । समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गरेको बताएर पार्टी एकतालाई कुनै हालतमा पनि टुट्न नदिने संकेत प्रधानमन्त्री ओलीले गरेका छन् ।

केमा, कसरी जुट्याे त सहमति ?

तर, अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागिएका ओलीलाई यथावत राख्न अर्को पक्ष सहमत भएको हो कि दुईमध्ये कुनै एक पद छाड्न ओली तयार भएका हुन् ? केमा सहमति जुटेर कसरी कुरा मिल्यो भन्ने चाहिँ दुवै पक्षले खुलाएका छैनन् । अध्यक्षद्वयका अभिव्यक्तिले दुवै पक्षकाे ‘इज्जत ढाकिने गरी’ कहीं न कहीं सहमति जुटिसकेकाे छनक दिएकाे छ ।

यद्यपि, नेकपाका अध्यक्ष दाहालले आइतबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरे । पार्टी एकतालाई जोगाउने दायित्व सबै नेता–कार्यकर्ताको रहेको बताउँदै आफूले समेत त्यसका लागि हदैसम्मको प्रयास जारी राख्ने उनले बताए । दाहालले चितवनमा गएर पार्टी एकताको पक्षमा अभिव्यक्ति दिएपछि कार्यकर्ता पंक्तिमा समेत उत्साह छाएको खबर सुभाष साहको बाइलाइनमा सोमबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर