सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार बिहान बालुवाटार पुगे । प्रधानमन्त्री खड्ग ओलीसँग दुई घन्टा छलफल गरे । दाहाल त्यसपछि नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे ।
त्यो कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए । दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे । यसले नेकपामा किचलो कायमै रहेको देखाएको छ । दाहाल र नेपाल दुवै जना ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए ।
दाहाल र नेपाल फेरि नेकपाका अर्का संस्थापक नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा ललितपुरको कुम्भेश्वरमा आयोजित कार्यक्रममा पनि सँगै थिए । दुवै नेताले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन् । गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको ‘एकताको महाधिवेशन’ मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए । त्यसले नेपालसँगको सम्बन्धमा अविश्वास पैदा गरेको थियो ।
दाहाल र नेपालले शुक्रबार भने प्रधानमन्त्री ओलीले आफूलाई मात्र राष्ट्रवादी देखाउन खोजेको, सामूहिक निर्णय नमानी पार्टीको अधीनस्थ सरकार सञ्चालन गर्ने कम्युनिस्ट पार्टीको बाटोविपरीत हिँड्न थालेको आरोप लगाए । दाहालले त अझ अगाडि बढेर ओलीकै योजना र निर्देशनमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन समेत दिएको आरोप लगाएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।