नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गते धुमधामसँग स्थापना दिवस मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यस दिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालका कालिकोट, जुम्ला, जाजरकोटलगायतका जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ ।
केन्द्रीय सैन्य कमान्डर उदय चलाउनेको प्रमुख उपस्थितिमा प्रशिक्षण चलेको छ । यसै साता जाजरकोटको नलगाड नगरपालिका र कुशे क्षेत्रमा प्रशिक्षण दिएर टोली डोल्पा र रुकुमतर्फ केन्द्रित भएको बताइन्छ । कालिकोट र जुम्लामा तालिम दिएर जाजरकोट आएको टोलीले हतियार र सेनाको आवश्यकता, एकरुपता र आफ्नो ताकतबारे ब्रिफिङ गरेको थियो ।
शक्ति सञ्चय गरेर आवश्यकता परेका बेला देखाउने भन्दै युवालाई सेनामा लाग्न आह्वान समेत गरिएको छ । हाल मासिक १५ हजार रूपैयाँ भत्ता उपलब्ध गराइने समेत बताइएको स्रोतले जनाएको छ । बाँकी प्रशिक्षण डोल्पा, रुकुम र सल्यानमा सकेर रोल्पामा भव्यतापूर्वक वर्षगाँठ मनाउने योजना रहेको आँकलन गरिएको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।