सत्ताधारी नेकपाका अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब रूपैयाँ घोटाला गरेको पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् ।
ओली, दाहाल र देउवाले ९ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप भट्टराईले लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ’– भट्टराईले भने । ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत भट्टराईले बताए । पालुङटार नगरपालिका– ६, गोरखामा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले भने– ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड बिलौना गर्नुहुन्छ ।’
दाहालसँग अहिले पनि आफ्नो सम्बन्ध रहेको र निवासमा भेट हुँदा उनले बिलौना गर्ने गरेको भट्टराईले बताए । ‘प्रचण्डजी ओलीको फेला पर्नुभयो’– उनले भने । प्रधानमन्त्री समेत रहेका ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप पनि भट्टराईले लगाए । जिल्लाको विकास निर्माणबारे छलफल गर्न भट्टराई गृहजिल्ला गोरखा गएको खबर नरहरि सापकोटाको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।