खड्ग ओली नेतृत्वको वर्तमान मन्त्रिपरिषदका सबैभन्दा विवादास्पद व्यक्ति अर्थात् उपप्रधानमन्त्री ईश्वर पोखरेलले समाल्दै आएको रक्षा मन्त्रालय खोसिएपछि त्यसका कारण र उनको अबको भूमिकाका सम्बन्धमा विभिन्न खाले टीकाटिप्पणी र चर्चा–परिचर्चा चलिरहेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डलको पुनर्गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए । पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिनुलाई उनको कार्यशैली र सेनासँगको तिक्ततापूर्ण सम्बन्धसँग जोडेर हेरिएको छ ।
देशमा कोरोना संक्रमणको दर बढ्दै गर्दा पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि औषधि व्यवस्था विभागमार्फत आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको थियो । सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीको मूल्य र गुणस्तरमा प्रश्न उठेपछि पोखरेलले त्यसको जिम्मा आफू मातहतको सेनालाई दिए ।
तर, त्यसले सेनालाई विवादमा तान्ने काम मात्रै गर्यो । कतिसम्म भने, सेनाले चीनबाट ल्याउने भनेको स्वास्थ्य सामग्री मागअनुसार समयमै ल्याउने विषयमा समेत सरकारी अधिकारीहरुबाटै सेनालाई अवरोध हुँदै आएको थियो । नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार सेनाले काठमाडौंबाट पठाएको अत्यावश्यक स्वास्थ्य सामग्रीसम्बन्धी विवरण ग्वान्जाओ नपुगी बीचमै हराउने गर्थ्यो ।
व्यापारीसँग खरिद गरेका सामग्री ल्याउन सेनाले खरिद गरेका स्वास्थ्य सामग्री आयातमा अवरोध र ढिलासुस्ती गराउन सरकारी अधिकारी नै सक्रिय भएको सेनाको आरोप छ । आफ्नो स्वार्थ पूरा गराउन सेनालाई जबर्जस्त विवादमा तान्न खोजिएको प्रति सेनाले खुलेरै असन्तुष्टि समेत व्यक्त गरेको थियो ।
फास्ट ट्रयाक निर्माणका निम्ति अन्तर्राष्ट्रिय परामर्शदाता चयन गर्ने विषयमा पनि व्यापारीको प्रभावमा परेर पोखरेलले आफ्नो स्वार्थ लाद्न खोजेको सैनिक अधिकारीहरू बताउँछन् । सेनासँग सम्बन्ध चिसिँदै जाने क्रममा साउन दोस्रो साता रक्षा मन्त्रालयको वार्षिक प्रतिवेदन बुझाउने कार्यक्रममा पोखरेलले सेनाको कार्यशैलीमाथि व्यङ्ग्य गर्दै ‘लकिरको फकिर’ जस्तो भएको बताएका थिए ।
यी र यस्ता थुप्रै कारणले गर्दा उपप्रधानमन्त्री पोखरेललाई सकेसम्म मन्त्रीपरिषदवाटै हटाउनुपर्ने नत्र अरू कुनै तरिकाले थान्को लगाउनुपर्ने बाध्यतामा प्रधानमन्त्री ओली पुगेका थिए । यिनै पृष्ठभूमिहरूका कारण पोख्रेलको हातबाट रक्षा मन्त्रालय खोसिन पुगेको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।