सत्ताधारी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचउड’ ले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप प्रधानमन्त्री खड्ग ओलीले लगाएका छन् । शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा बालुवाटारमा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् ।
‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो; समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ; उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाइएकामा पनि आउनुभएन, यसले सन्देश राम्रो जाँदैन’– प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।
‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभाष भयो, खैर केही छैन, हामी दुवै जना बस्छौं र तपाईंहरुको समस्यालाई समाधान गर्छौं ।’
दाहालले बिहीबार र शुक्रबार कर्णालीका नेताहरुसँग बेग्लाबेग्लै समूहमा छलफल गरेका थिए । कर्णालीका नेताहरुसँग छलफल गर्ने क्रममा ओलीले शनिबार दाहाललाई पनि बालुवाटार बोलाएका थिए, तर उनी नगएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।