कोही–कोही नेताका कुराको लय कस्तो भने ३८ वर्षअघि जस्तो । अहिले पनि त्यस्तै । प्रसंग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको हो । सत्तारुढ नेकपाभित्र ९ महिनादेखि चर्कंदै आएको विवादका क्रममा अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीसँग असन्तुष्ट कार्यकारी अध्यक्ष प्रचण्डसहित झलनाथ खनाल, वामदेव गौतम, भीम रावलहरूका अनेक–अनेक अभिव्यक्ति आए ।
तर, सुरुदेखि अहिलेसम्म पनि माधव नेपालले एउटै कुरा भनिरहेका छन्– ‘प्रधानमन्त्री हटाएर होइन राखेरै, उनलाई सच्याएर जाऔं ।’ जबकि, अरु नेताले यसबीच राजीनामाको मागदेखि अविश्वासको प्रस्ताव हुँदै संसदीय दलको नेताबाट हटाउनु पर्नेसम्मका अडान राख्दै आएका छन् । तर, माधव नेपाल भन्दैछन्, ‘होइन, विधि र पद्धति स्थापित गर्ने कुरा गरौं ।’
माधव नेपालको यही अडानकै कारण फागुनमै प्रधानमन्त्रीलाई पदच्युत गर्ने विधितिर गइसकेको झगडा त्यो तहमा अझै पुग्न पाएको छैन । अहिले पनि माधवको अडान त्यही नै छ । यो कुरा यतिबेला स्मरणीय हुनुको एउटा सन्दर्भ छ, ३८ वर्षअघिको । २०३९ मा सिन्धुलीको कुनै ग्रामीण वस्तीमा तत्कालीन नेकपा (माले) को सातौं केन्द्रीय कमिटीको बैठक र त्यो बैठकअघिदेखि नै चर्किएको अन्तर्संघर्षमा माधवको भूमिका यस्तै थियो । त्यसबेला महासचिव थिए सीपी मैनाली ।
मदन भण्डारी, जीवराज आश्रित, माधव नेपाल र झलनाथ पोलिटब्युरो सदस्य थिए भने अमृत बोहोरा, नेत्रलाल शर्मा (अभागी), मोदनाथ प्रश्रित (जेलमा), वामदेव गौतम, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, ईश्वर पोखरेलहरू केन्द्रीय सदस्य । ०३७ को जनमतसंग्रहपछि उपयोग या बहिष्कार गर्नेदेखि अनेक प्रकारका तुष बढ्दै गएपछि यीमध्ये सबै नेता सीपीलाई पदच्युत गर्नुपर्ने कठोर निर्णयमा पुगिसकेका थिए ।
तर, माधवचाहिँ सीपीलाई गलहत्याएर समाधान हुँदैन भन्नेमा अडिग भए । जबकि, उनी सीपी पक्षधर वा उनको बचावमा थिएनन् । उनको भनाइ थियो– ‘राजीनामा दिन्छु भन्नुभएकै छ, किन कारबाही गरेर निकाल्ने ? राजीनामा दिन्छु भनिसकेपछि पर्खौं न… ।’ तर, त्यसबेलाका सीपी ठ्याक्कै अहिलेका केपीजस्तै ! बैठक सामना गर्नै नचाहने । बैठक बसिहाले पनि ‘भड्याङ–भुडुङ’ गरेर कुरा अन्तै मोड्ने । माइन्युट फ्याँकेर घुर्की देखाउने । त्यसमाथि माधवले नै ‘पर्खौं न’ भनेपछि दृष्टिविहीनले आँखो पाएजस्तो !
तर, त्यसबेला जीवराज र मदनको अडानका कारण माधवको सदाशयता लामो समय टिक्न पाएन । त्यही बैठकमा सीपी आफूले आफैंलाई कारबाही गरेको माइन्युट तयार पारियो । सीपी आफ्नो हातबाट आफ्नै महासचिव पद सिध्याउन बाध्य भए । उतिबेला मदन भण्डारीको उदाउँदो सांगठनिक क्रियाशीलता र पार्टीभित्र बढ्दो प्रभावका कारण उनले भनिसकेपछि माधवले फेरि केही बोलेनन् । तर, यतिबेला माधव ‘लौ न त लौ’ भनेर प्रचण्ड–झलनाथहरूको लयमा गए भने केपी ०३९ को सीपी बन्ने खतरा टड्कारो रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।