newskoseli.Com

शक्तिसञ्चय गर्न बहुविवादित बैठकअघि ओली, प्रचण्ड र नेपाल गुटका भेलैभेला !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री खड्ग ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षणको तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ, प्रचण्ड भने पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् र ओली समूह चाहिँ दुई चरणमा आन्तरिक भेला गर्ने तयारीमा लागेको छ ।

नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरेको भए पनि केन्द्रीय कमिटीको बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर, केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको छ । ‘आन्तरिकरूपमा कुराकानी भइरहेको छ, पार्टीका बैठकहरू नियमित नहुँदा समस्या आउने र जनप्रतिनिधिहरूबीच पनि समन्वयको अभाव हुने भएकाले छलफल र भेटघाट सामान्यजस्तै बनेको छ’– नेपाल समूहका एक नेताले भने ।

वरिष्ठ नेता नेपाल दुई दिनअघि पर्सा पुग्नुलाई पनि कतिपय नेताहरूले गुटगत भेलाकै तयारीका रूपमा अर्थ्याएका छन् । आफ्ना कुरा र विषयको सुनुवाइ नभए देशव्यापीरूपमा कार्यकर्तामाझ जाने नेता नेपालले बताउँदै आएका छन् । नेपालले सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि पार्टी विधि–पद्धतिअनुसार सञ्चालन नभएको र आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् ।

६ दिनअघि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगर कमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुटभेला आयोजना गरेको भनी आरोप लगाएको छ । त्यहाँ ओली पक्षका केही कार्यकर्ताले पाण्डेमाथि दुर्व्यवहार समेत गरेका थिए । त्यस्तै, पोखरा पुगेका पाण्डेमाथि त्यहाँ आफूनिकट कार्यकर्तासँग मात्र भेटघाट गरेको आरोप लगाइएको छ ।

केही दिनअघि उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । निजी तथा पारिवारिक काममा दाङ गएका गौतममाथि समेत गुटभेला गरेको आरोप ओली समूहले लगाएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर