सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री खड्ग ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा शुक्रबार इटहरीमा आयोजित प्रचण्ड–नेपाल पक्षीय भेलाले ‘अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने’ निचोड निकालेको छ ।
इटहरीस्थित एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब उनीसँग मिलेर जान नसक्ने निचोड निकालेको छ । भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको जानकारी सहभागी एक नेताले दिए ।
भेलामा ओली पक्षविरुद्ध पूर्वएमालेका नेता आक्रामक ढंगले प्रस्तुत भएका थिए । पूर्वमाओवादीका नेताहरूले भने मिल्न सकिन्छ भने त्यहीअनुसार अघि बढ्नुपर्ने धारणा राखेका थिए । ‘पूर्वएमालेका नेताहरू आक्रामक भएर प्रस्तुत भए र अब ओली पक्षसँग मिलेर जानै नसक्ने निष्कर्ष निकाले,’ भेलामा सहभागी पूर्वमाओवादी पक्षका एक नेताले भने– ‘पहिलो चरणमा प्रदेश किमिटी सदस्य बसेर भेला भए पनि अब दोस्रो चरणमा तल्लो तहसम्म भेला र प्रशिक्षण गर्ने टुंगो लागेको छ ।’
थप यी समाचार पनि पढ्नुहोस्–
अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)
प्रचण्ड–ओलीबीच १६ गते ‘वारपार’ हुने : सचिवालयको अर्को बैठक पार्टीकै कार्यालयमा
भेलाले मोरङ जिल्लामा ओली पक्षका भन्दा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल पक्षका कार्यकर्ता बढी रहेको निष्कर्ष निकालेको छ । ‘भेलामा प्रचण्ड–नेपाल पक्षीय नेता–कार्यकर्ताको बहुमत रहेको निष्कर्ष निकाल्यौं’– अर्का एक सहभागीले भने । भेलाले अब १३ गतेपछि प्रदेश– १ का मन्त्री, सभासद् र स्थानीय तहका प्रतिनिधिको गुटभेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
जिल्ला सहइन्चार्ज महेश रेग्मी र गोपी आछामीले बोलाएकाले आफू भेलामा गएको नेकपा मोरङ जिल्ला सचिव गणेश उप्रेतीले बताए । भेलामा छलफल भएका केही विषयबारे उनले खुलाउन चाहेनन् । ‘पार्टीलाई विधि र प्रक्रिया मिलाएर अघि बढाउनुपर्छ तर फुटाउनुहुँदैन भनेर सुझाव दिएँ’– उनले भने । सो भेलामा केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सहइन्चार्जद्वय महेश रेग्मी, गोपी आछामी, पूर्वमन्त्री शिवकुमार मण्डलसहित प्रदेश कमिटीका ५० जना सहभागी थिए ।
मोरङमा हुँदा ओली पक्षसम्म सूचना पुग्ने भएकाले गुटभेला इटहरीमा राखिएको बताइएको छ । रेग्मीले भने गुटगत भेला नभएर चियागफ मात्र भएको प्रतिक्रिया दिएको खबर अमर खड्काको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।