सत्ताधारी नेकपाको विवाद उत्कर्षमा पुगेर ‘निर्णायक छिनोफानो’ हुने दिशतर्फ गैरहेका बेला खड्ग ओली नेतृत्वको वर्तमान सरकारका एक वरिष्ठ मन्त्रीले नै अब ओलीलाई प्रधानमन्त्रीकै रुपमा राखेर जनमतको सम्मान गर्न नसकिने निष्कर्षमा बहुमत नेताहरु पुगिसकेको खुलासा गरेका छन् ।
ऊर्जामन्त्री एवं स्थायी कमिटीका सदस्य वर्षमान पुनले भनेका छन्– ‘स्थायी कमिटी दुई महिना लामो ‘टफ’ अवस्थाबाट समाधान खोजेर अलिक रिल्याक्समा बसेको थियो । मिल्यो भनेका बेला त्योभन्दा ठूलो समस्या आयो । त्यतिबेला यति ठूलो ध्रुवीकरण र निष्कर्षमा नेतृत्व पुगेको थिएन । अहिले प्रधानमन्त्रीलाई यही रूपमा राख्न सकिँदैन, प्रधानमन्त्रीकै रूपमा राखेर जनमतलाई सम्मान गर्न सकिँदैन भन्नेमा प्रचण्ड कमरेड र अरू नेताहरू हुनुहुन्छ । (प्रधानमन्त्री) ले आत्मालोचना र करेक्सन गर्नुपर्छ, नभए उहाँको विकल्प खोज्नुपर्छ भन्ने तहमा उहाँहरू पुगेको स्थिति छ । प्रधानमन्त्रीचाहिँ मलाई यहाँनिर रोक्छन्, त्यसपछि अध्यादेश ल्याउँछु, कांग्रेसलाई यहाँनिर प्रयोग गर्छु, त्यहाँभन्दा अगाडि मध्यावधिसम्म जान्छु भन्नेसम्मका कुरा समातेर बसेको अवस्था छ । यति ठूलठूला निष्कर्षमा पुगेपछि त्यसलाई ‘ब्रिजिङ’ गर्न अलि धेरै मिहिनेत चाहिन्छ । अहिले विचार, कार्यशैली र प्रवृत्तिमै फरकजस्तो देखिएको छ । आ–आफ्नो गन्तव्य मोटामोटी तय गरेजस्तो देखिन्छ । पार्टीका लागि असाधारण र अभूतपूर्व संकट छ तर हरेक समस्याभित्र समाधानका उपाय हुन्छन् । मेरो विश्वासचाहिँ पार्टी फुट्दैन, अहिलेको उपलब्धि जोगिन्छ भन्ने हो ।’
ओली पक्षले भनेजस्तो अब ‘साझा प्रस्ताव’ आउन नसक्ने र प्रचण्ड–माधव नेपाल पक्ष पछि नहट्ने संकेत गर्दै मन्त्री पुनले भनेका छन्– ‘सकेसम्म साझा प्रस्ताव बनाउँदा राम्रै हुन्छ । तर, अहिलेको छलफल र परिस्थिति त्यस्तो देखिँदैन । अरू नेता बैठक बसौं भन्ने, प्रधानमन्त्री नमान्ने । सामान्यतया कार्यकारी अध्यक्षले बैठक बसाैं भनेपछि प्रध्रानमन्त्रीले मानिदिएको भए हुने, बैठक बसौं भन्दा बैठक बसाउन पनि नसक्ने हो भने त के कार्यकारी अध्यक्ष ? अर्का अध्यक्ष (प्रधानमन्त्री) ले हुन्छ भनिदिएको भए हुने । नमानेपछि फेरि ५ जना बहुमत सदस्यले निवेदन दिनुपर्यो । बहुमत नेताले भनिहाले भनेर प्रधानमन्त्रीले सहजरूपमा बैठकमा बसेको भए पनि हुन्थ्यो । तर, कार्यकारी अध्यक्षसहितले गरेको दुई पेजको प्रस्तावमा तोक लगाइदिने ! यस्तो कार्यशैलीले ‘पिन्च’ पर्छ । त्यहाँ अलिकति पानी खन्याइदिएको भए त्यहीं सिद्धिन्थ्यो । तर, तोक लगाइदिने र १० पेजको अर्को जवाफ दिने भएपछि प्रचण्डको जवाफ आएको हो । प्रचण्डको १९ पृष्ठको जवाफमा त्यसको डबल ३८ पेज आइहाल्यो । नाै जनामा भएका विषय वैचारिक, राजनीतिक, व्यक्तिगत इगो र कार्यशैलीका समस्या छन् । त्यसैले ती सबै कुरा स्थायी कमिटीमा ल्याउनुहोस्, नौ नेता मात्र होइन, अरू नेता पनि छौं भनेका हौं ।
सत्ताधारी पार्टीभित्रको किचलो, सरकारको संकट र विविध समसामयिक विषयमा मन्त्री पुनसँग दुर्गा खनाल र बिनु सुवेदीले गरेको लामो अन्तर्वार्ता शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।