खड्ग ओली नेतृत्वको वर्तमान सरकारको गलत शासन सञ्चालनको प्रतिक्रिया सडकमा देखिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । सरकारले गरेका गलत क्रियाकलापकै कारण लुकेर बसेका ‘राजवादी’ ले मुन्टो उठाउन पाएको पौडेलको भनाइ छ ।
यद्यपि, ‘राजावादी’ हरुको प्रयास सफल र टिकाउ नहुने बताउँदै कांग्रेस अहिलेसम्म मौन बसेकाले पनि यस्तो भएको पौडेलले बताए । ‘यसमा सत्ताको मात्रै होइन, प्रमुख प्रतिपक्षी कांग्रेसको पनि कमजोरी हो । सत्ताले जनतालाई चिढाउने, सताउने काम गरेकै थियो तर त्यतिबेला कांग्रेसले देशको विकल्प दिन सक्नुपर्थ्यो । कम्युनिस्टले राम्रो गरेनन्, कांग्रेस त छ नि भन्ने विश्वास जनतालाई दिनुपर्थ्यो ।’
सत्ताधारी नेकपामा सर्वसत्तावादी प्रवृत्ति हावी रहेको आरोप पनि पौडेलले लगाए । ‘अरु नेताहरु (माधव–प्रचण्ड) का कुरा लिबरल नै देखिन्छन्, अर्घेलो चाहिँ ओलीकै देखिन्छ, सर्वसत्तावादी प्रवृत्तिबाट ओली हौसिएका छन्, यो प्रवृत्ति मेटिनुपर्छ’– मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित अन्तर्वार्तामा पौडेलको भनाइ छ ।