शनिबारको सचिवालय बैठक र भोलिपल्ट वामदेवसहित पूर्वमाओवादीका अन्य नेताहरुसामु देखाइएको ‘असली रुप’ पछि खुमलटारले रामबहादुर थापा ‘बादल’ बाट ‘आशा मरेको’ निष्कर्ष निकालेको छ । ‘अन्तिम समयमा बादलबाट धोका नहुने’ निष्कर्षविपरीत बालुवाटारका पक्षमा बादलले खेलेको भूमिकाका कारण अब उनको सम्भावित ‘यु–टर्न’ लाई सदाका निम्ति अन्त्य गरेको बताइन्छ ।
तर, उपाध्यक्ष वामदेवको भूमिका चाहिँ बालुवाटारले अनुमान र आशा गरेभन्दा फरक देखिनुका पछाडि भने यसअघि प्रधानमन्त्री र उनको ‘किचेन क्याबिनेट’ बाट पाएको धोखाधडी र अपमानलाई कारक मानिएको छ । यस अघिका धेरैवटा राजनीतिक छालबाट खड्ग ओलीलाई उम्काइदिएका गौतमले अहिले निभाएको भूमिकाका कारण फेरि एकपटक ‘गुमेको छवि’ उकास्ने अवसर वामदेवलाई प्राप्त भएको चर्चा छ ।
गौतमलाई कुनै बखत बालुवाटारले प्रधानमन्त्री र पार्टी अध्यक्षको अफर गरे पनि पछिल्लोचोटि राष्ट्रियसभाको सांसद नबनाउनेदेखि मन्त्री नदिनेसम्मको खेल र षडयन्त्र रचिएको उनले बिस्तारै चाल पाएको एकथरी बताउँछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको साथ र सहयोगविना आफूलाई राष्ट्रियसभामै नलैजाने खेल खेलिएको ‘ग्राण्ड डिजाइन’ समेत अनुभूत भएपछि गौतमले दुई दशकअघिको ‘विद्रोही’ रूप देखाएको नेताहरूको स्वीकारोक्ति छ ।
सचिवालयभित्रको छिनाझपटी, बहस र ‘इस्युको ग्राभिटी’ लाई हेर्दा अब नेकपाको विवाद ‘विष्णु पौडेलले सोचेर बादलले बोलेझैं’ कार्यदल या अन्य कुनै टालटुलले रोकिने देखिँदैन । यसरी ‘इस्यु’ सचिवालयबाट स्थायी कमिटीमा जानै लाग्दा प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई तीनवटा झट्का लागेका छन्– पहिलो, सचिवालयका पाँच जना सदस्यले आग्रह गर्दा समेत बैठक नै बोलाउँदिन भनेर देखाइएको अडान एक महिना नपुग्दै तोडिनु; दोस्रो, प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव खारेज हुन्छ, त्यसमाथि छलफल नै हुँदैन र त्यो नहुन्जेल बैठक बस्ने त धेरै टाढाको विषय, अर्का अध्यक्षसँग भेटघाट समेत गर्दिनँ भन्दै आएको अवस्थामा क्रमभङ्ग हुनु ।
तमाम अडानका वाबजुद सचिवालयको बैठकमा गई प्रचण्डको त्यही प्रतिवेदनमाथि टेकेर भए पनि ओलीले ३८ पृष्ठको जवाफ दिनु । त्यो भनेको राजनीतिक भाषामा प्रचण्डको प्रतिवेदनलाई स्वीकार्नु नै हो । र, तेस्रो, सचिवालयमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरूलाई कुनै हालतमा स्थायी कमिटीमा लैजानु हुँदैन, फिर्ता हुनुपर्छ र सचिवालयबाटै समाधान गरिनुपर्छ, आफू सहमत नभएसम्म केही हुँदैन भन्ने ओलीको जुन दावी थियो, त्यो पनि स्थायी कमिटीको बैठकबाट खण्डित भएको छ किनकि शनिबारको बैठक ओली अनुपस्थित बैठकले नै तय गरेको थियो । र, त्यही निर्णयबमोजिम बसेको बैठकमा उनको उपस्थिति भएको छ; भोलिपल्ट स्थायी कमिटीलाई सम्बोधन गर्दै ‘तिमीहरु बस, म आउँदिन’ भनेर पत्र लेखिएको छ ।
सधैं आक्रामक स्थितिमा रहँदै आएका ओली क्रमशः रक्षात्मक अवस्थामा पुगेको विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै गएको देखिँदै छ । यता, बादलको भूमिकापछि पूर्वमाओवादी पक्षले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ । सचिवालयमा बादल सिंगो छन् भने स्थायी कमिटीमा ‘बादलसँग नजिक’ भनेर चिनिएकाह पम्फा भुसाल र देव गुरुङको भूमिका बादलको भन्दा एक सय असी डिग्री विपरीत रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।