सत्ताको बागडोर एकलौटी समालिरहेको नेकपाभित्रको ओली गुटसँग कांग्रेसको भागबन्डा नमिलेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबारका लागि बोलाइएको संवैधानिक परिषदको बैठकमा गएनन् ।
तर, देउवाले भने पार्टीको कार्यक्रमका कारण बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी संवैधानिक परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओलीलाई गराएका छन् । कांग्रेसले २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । सोही प्रदर्शनको तयारीका लागि व्यस्त रहने भएकाले परिषदको बैठकमा आफ्नो दलको उपस्थिति नहुने जानकारी सभापति देउवाले प्रधानमन्त्रीलाई गराएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
देउवा निकट एक नेताले भने– ‘शुक्रबार मात्रै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीचको अनौपचारिक छलफलमा समेत बैठकबारे छलफल भएको थियो ।’ तर, हाल आएर सत्तापक्षले एकतर्फीरूपमा नियुक्तिमा अडान लिएकाले भागबन्डा नमिल्दा देउवा बैठकमा नजाने भएका हुन् । ती नेताका अनुसार कांग्रेसले अख्तियार तथा निर्वाचन अयोगका आयुक्त आफूलाई दिनुपर्ने अडान लिएको छ । अन्य निकायमा समेत ‘सम्मानजनक स्थान’ दिनुपर्ने कांग्रेसको अडान छ ।
सत्तारूढ नेकपाभित्र आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कांग्रेस सभापतिसँग निरन्तर भेट्दै संवैधानिक नियुक्तिका लागि छलफल गर्दै आइरहेका छन् । त्यही सिलसिलामा शुक्रबार पनि अनौपचारिक भेटवार्ता भएको थियो । चरणगत छलफलपछि रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सहमति गर्न सरकारका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट नेता रमेश लेखकलाई जिम्मा दिइएको थियो ।
कांग्रेसका तर्फबाट छलफलको जिम्मेवारी पाएका नेता लेखकले भने भागबन्डा नमिलेकाले नभई पूर्वनिर्धारित पार्टी कार्यक्रमका कारण सभापति देउवा बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराइएको बताएको खबर महेश्वर गौतमको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।