प्रधानमन्त्री तथा नेकपा अध्यक्ष खड्ग ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘फकाउने’ कोसिस गर्दै आएका छन् । नेपाल नमाने प्रचण्डलाई र प्रचण्ड नमाने नेपाललाई ‘फकाउने’ कसरतमा लागे पनि ओलीका प्रयास निरन्तर असफल हुँदै आएका छन् ।
मंसिर २१ मा बसेको स्थायी कमिटीको बैठकपछि बुधबार ओलीले प्रचण्डलाई बालुवाटारमा बोलाएर भेटघाट गरे । भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले सो विषयलाई खासै महत्त्व दिएनन् ।
मंसिर १७ को सचिवालय बैठकअघि पनि ओलीले प्रचण्डलाई भेटेका थिए । त्यतिबेला उनले बैठक रोकौं र सहमतिका लागि गृहकार्य गरौं भन्ने आग्रह गरेका थिए । तर, प्रचण्डले सो कुरा बैठकमा नै राख्नोस् भनेपछि ओलीले कुनै जवाफ फर्काएनन् ।
बुधबारको भेटघाटमा पूर्वएमालेका अरू नेताहरुको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि प्रचण्डसँग निरन्तर ‘सहकार्य’ को प्रस्ताव राखेका थिए । शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्ड निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए ।
पोखरेलपछि आइतबारको बैठकअघि संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि खुमलटार पुगेका थिए । तर, अध्यक्ष प्रचण्डले भने विवादका विषयवस्तु कमिटीमा पुगिसकेकाले त्यहींबाटै निर्णय हुने दुवैलाई बताएको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।