newskoseli.Com

ओलीले थापे ३ तुरुप : पद छाड्नै परे ‘वामदेवलाई दिने’ आश्वासन !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री खड्ग ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शनिबार बिहान खुमलटारमा गरेको छलफल समेत फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ । २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न ओलीले गरेको आग्रहलाई प्रचण्डले पुनः अस्वीकार गरेसँग दुई अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो ।

दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले ‘तीन रणनीति’ सुरु गरेका छन् । नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ लाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन् । दोस्रोमा पूर्वएमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई ‘पहिलो अध्यक्ष’ का रुपमा अघि सार्ने र तेस्रोमा ओली–दाहाल दुवैका प्रतिवेदनलाई ‘सन्दर्भ सामग्री’ को रुपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटीको बैठकमा संयुक्त प्रतिवेदन पेस गर्ने ओलीको योजना छ ।

ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन् । कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न ओलीले प्रचण्डलाई आग्रह गरेका थिए । तर, प्रचण्डले ‘अब सकिन्न, त्यो फिर्ता हुँदैन’ भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवासमा पुगेर ‘साझा प्रतिवेदन’ लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ ।

‘सबैलाई मान्य हुने प्रतिवेदन लेख्न’ प्रधानमन्त्रीले गृहमन्त्रीलाई आग्रह गरेका हुन् । ‘कोही–कसैको पक्षमा लाग्नु पर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ’– थापासँग प्रधानमन्त्रीले गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो । पूर्वमाओवादी समूहका केही नेता समेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेको र गौतमलाई अध्यक्ष बनाउँदा खासै विवाद नहुने सुझाव ओलीलाई दिएका कारण ओली पक्षका केही नेता यसको गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।

शनिबार बिहान प्रचण्ड निवासमा भएको छलफलमा वामदेव गौतम पनि सहभागी थिए । गौतमले गुट भेलामा सहभागी नहुने तर सामूहिक छलफलमा उपस्थित हुने बताउँदै आएका छन् । ‘दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष गौतमलाई पनि बोलाइएको थियो, उहाँसँग पनि केहीबेर कुराकानी भयो तर कुराकानी लाभदायक भएन,’ खुमलटार निकट स्रोतले भन्यो– ‘उपाध्यक्षले पनि दुई अध्यक्ष मिल्नोस् र पार्टी एकता जोगाउनोस् तर अलि बढी जिम्मेवार चाहिँ प्रधानमन्त्री नै बन्नोस् भन्नुभयो । कुराकानी त भए तर के–के विषयहरू मिलेका छैनन् भन्नेबारे चाहिँ छलफल नै हुँदैन ।’

बिहान करिव १० बजे खुमलटार पुगेका ओली दुई घन्टापछि बाहिरिएका थिए । खुमलटारमा माधव नेपालको प्रवेशपछि ओली बाहिरिएका हुन् । प्रधानमन्त्री ओली खुमलटारबाट सीधै मन्त्री क्वार्टर पुल्चोक पुगेका थिए । पुल्चोकमा गृहमन्त्री थापासँग केहीबेर कुराकानी गरेका ओलीले ‘सबैलाई मान्य हुने’ साझा प्रतिवेदन ल्याएर पार्टी एकतालाई कायम राख्न आग्रह गरेको स्रोतको दाबी छ ।

ओली र थापाले कुराकानी गरिरहेका बेला पुल्चोकमा भूमिसुधार मन्त्री पद्मा अर्याल, भौतिक योजना मन्त्री वसन्त नेम्बाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि पुगे । प्रचण्डसँगको कुराकानी फलदायी नभएको ओलीले उनीहरूलाई बताए । ‘आजको भेट खास उपलब्धिमूलक भएको छैन, स्थायी कमिटीको बैठक चलिरहेको छ, समस्याको समाधान खोज्ने थलो एउटा त्यो पनि हो तर सहमतिमा पार्टी सञ्चालन गर्ने भन्ने उल्लेख छ, त्यो सहमति उल्लंघन हुँदै आएको छ’– त्यसबेला ओलीले भने । प्रचण्ड–नेपाल समूह ओलीलाई एक पद छोडाउने रणनीतिमा लागेका छन् । तर, ओली भने दुवै पद छाड्ने मनस्थितिमा छैनन् ।

ओली शनिबार दिनभरि नै भेटघाटमा व्यस्त रहे । ‘खुमलटारबाट निस्केपछि उहाँ दिनभरजसो व्यस्त हुनुभयो, पार्टी एकतालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा निकै चिन्तित हुनुभयो र गृहमन्त्री तथा अन्य नेतासँगको छलफलमा रहनुभयो’– बालुवाटार निकट स्रोतले भन्यो । दिनभर नेताहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री साँझ भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे । दिनभर भएका घटनाक्रमबारे ओलीले भण्डारीलाई ब्रिफिङ गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर