करिव–करिव विभाजनको घोषणा हुन लागेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले अनौठा अभिव्यक्ति दिएका छन् । केही सीमित नेताहरूको आकांक्षा नै अहिलेका समस्याको मुख्य जड भएको बताउँदै आफूहरू अहिले पनि ‘एकता जोगाउने सूत्र’ कै खोजीमा रहेको उनले बताएका छन् ।
सीमित व्यक्तिहरूको आकांक्षा पूरा गर्न पार्टीभित्र समस्या थपिँदै गएको सोमबार प्रकाशित एक अन्तर्वार्तामा उनले बताएका छन् । ‘नेताहरु र केही पक्षलाई पनि व्यक्तिगत आकांक्षाले डोहोर्याएको छ; त्यो आकांक्षा, मुलुक र जनताको आवश्यकता हो कि होइन ?’ प्रश्न गर्दै उनले भनेका छन्– ‘स्वयम् पार्टीको आवश्यकता हो कि होइन, त्यसतर्फ कसैको मतलब छैन; आकांक्षाले यसरी जबर्जस्ती डोहोर्याएको छ कि त्यही आकांक्षा पूरा गर्न पार्टीभित्र यस प्रकारका समस्या एकपछि अर्को रुपमा थपिँदै गएका छन् ।’
नेकपाको एकता जोगाउने सूत्रहरुले अहिलेचाहिँ काम नगरिरहेको बताउँदै एकता जोगाउने अनेकन सूत्र कामयाव नभएको उनले बताए । ‘एकता जोगाउने अनेकन सूत्र छन्, जुन कामयाबी भएनन्, आज पनि हामी एकता जोगाउन नयाँ सूत्रकै खोजीमा छौं । आज पनि हामी आशावादी छौं । सास रहेसम्म आस हुन्छ भन्ने नेपाली लोकोक्ति छ । औपचारिक ढंगले पार्टी विभाजन हुनुभन्दा अघि हामीले एकता जोगाउनका निम्ति अधिकतम कोसिस गर्नुपर्छ ।’
महासचिव पौडेल अगाडि भन्छन्– ‘म आफैं पनि र पार्टीका अरू साथीहरू, बहुसंख्यक नेताहरू, बहुसंख्यक कार्यकर्ताहरू पार्टीको एकता सुदृढ रहोस् भन्ने चाहिरहेका छन् । त्यो चाहनालाई प्रतिनिधित्व गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति, अग्रगामी परिवर्तनका निम्ति, संवैधानिक यात्रालाई सुनिश्चित गर्नका लागि नेकपाको एकता सुरक्षित र सुनिश्चित रहनुपर्छ भन्ने ठम्याइ हो । त्यसकारण हामी एकता जोगाउन केही उपाय छन् कि भन्ने कोसिस गर्दैछौं । तर, दुःखको कुरा के छ भने पछिल्ला दिनहरूमा हाम्रा हरेक प्रयास असफल हुँदै आएका छन् । हामी एकता जोगाउने कोसिस गर्दैछौं तर असफलता हात लागिरहेको छ, यो निकै दुःखद पक्ष हो ।’
सोमबारको नागरिक दैनिकमा प्रकाशित अन्तर्वार्तामा गुणराज लुइँटेल र टपेन्द्र कार्कीसँग कुरा गर्दै महासचिव पौडेलले यी अभिव्यक्ति दिएका हुन् ।