सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरूपमा विभाजित भएपछि प्रचण्ड–माधवनेपाल पक्षले पार्टी एकीकरणका बाँकी काम र प्रक्रिया पूरा गर्दा साविक एमालेले र साविक माओवादी केन्द्रले नेतृत्व गरेका पंक्तिलाई यथावत राख्ने गरी मापदण्ड तय गरेको छ ।
पुस १९ मा बसेको स्थायी कमिटीको बैठकबाट सो समूहका अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम पूरा गर्न बनेको कार्यदलले त्यस किसिमले मापदण्ड तयार पारेको हो । ‘हामीले एउटा विधि र मापदण्ड तय गरेका छौं,’ कार्यदलका एक सदस्यले भने– ‘त्यसैअनुसार पदपूर्ति हुनेछन् ।’
प्रदेश, जिल्ला कमिटी र जनसंगठनहरूमा नेतृत्व खालि भएपछि सो पक्षले एकता प्रक्रिया पूरा गर्ने प्रक्रिया अघि बढाएको हो । ओली समूहले प्रचण्ड–नेपाल पक्षलाई हटाउने प्रक्रिया अघि बढाइसकेको छ । साथै, प्रचण्ड–नेपाल पक्ष छाडेर ओली समूहमा गएका जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश कमिटी र जनसंगठनका अध्यक्ष तथा सचिवहरूको पदपूर्ति गरिने भएको छ ।
उनीहरूले सबै तहमा नेतृत्व परिवर्तन गर्ने र परिवर्तित नेतृत्वमा ओली पक्षमा गएका पूर्वएमालेहरूको स्थान पूर्वएमालेहरूलाई नै दिने गरी मापदण्ड तय भएको कार्यदलका एक सदस्यले जानकारी दिए । प्रचण्ड–नेपाल पक्षले विभिन्न तहमा पदाधिकारी चयन गर्न १२ सदस्यीय कार्यदल गठन गरेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।