‘राजावादी’ हरुले नेकपाभित्रका ‘असन्तुष्ट’ पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लगाएका छन् । शनिबार धनकुटा सदरमुकाममा ओली गुटले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले ‘पार्टी विभाजन हुनुमा राजावादीको मुख्य भूमिका रहेको’ आरोप लगाएका हुन् ।
राजावादीहरुकै षड्यन्त्रका कारण नेकपाभित्र विवाद निम्तिएको थापाको दावी छ । ‘जब हामीले देशमा राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्यौं, त्यही बेलादेखि प्रतिगामी शक्तिहरुले कसरी आफ्नो गुमेको सत्ता र शासनलाई पुनर्स्थापित गर्ने भनेर षड्यन्त्र थालेका थिए,’ थापाले भने– ‘नेकपा एकतावद्ध भएर मुलुक समृद्धिको दिशातर्फ अघि बढ्न थालेपछि उनीहरुले नेकपालाई विभाजन नगराई आफ्नो शासनसत्ता नफर्कने देखेर पार्टीभित्रका कमजोरीलाई केलाउन थाले, नेकपाभित्रका असन्तुष्ट समूहलाई उक्साए उत्तेजित बनाई पार्टी विभाजन गराउन उनीहरु सफल भए ।’
‘राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन नपाएर असन्तुष्ट रहेका अवसरवादीहरुलाई उचालेर राजावादीले चलखेल गरेको’ उनको तर्क छ । राजावादीको डिजाइनअनुसार नै १९ पेजको आरोपपत्र आएको दावी गर्दै प्रतिगामी र अवसरवादीसँग आत्मसमर्पण गरेर प्रधानमन्त्री पद त्याग्नुभन्दा संसद् विघटन गुर्न उत्तम भएकाले प्रधानमन्त्री ओलीले नयाँ जनादेश रोजेको उनले दावी गरे ।
नेकपा विभाजन हुँदा मुलुकमा अस्थिरता आउने भएकाले विभाजनप्रति सहपार्टीदेखि सवै जनता असन्तुष्ट रहेको भए पनि राजतन्त्र फर्काउने षड्यन्त्र गरिरहेका प्रतिगामी शक्तिहरुले खुशीयाली मनाइरहेको थापाले बताएको खबर रविन कट्टेलको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।