चुनाव अवधिमा निर्वाचनको काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ ।
आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गतसाता गरिएको सरुवा निर्वाचन आयोग एनेको व्यवस्थाविपरीत छ । ऐनको दफा १९ (५) मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि निर्वाचन अवधिभर आयोगको स्वीकृतिविना कुनै पनि कर्मचारीलाई सरुवा गर्न वा काज खटाउन नपाइने उल्लेख छ ।
सोही ऐनले निर्वाचन हुने मितिभन्दा १ सय २० दिन अगाडिदेखि निर्वाचनको परिणाम सार्वजनिक नभएसम्मलाई निर्वाचन अवधि भनेको छ । वैशाख १७ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि पुस २० गते नै निर्वाचन अवधि सुरु भइसकेको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।