‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’– यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको छ । नेताहरूले आफ्नो शक्तिमा विश्वास नगर्ने तर अर्काकोतर्फ आँखा लगाउने गर्दा साथमा भएको पनि गुमाएका धेरै उदाहरण छन् ।
तत्कालीन एमाओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणकाजीलाई टिप्दा मोहन वैद्य ‘किरण’ गुमाएको चर्चा त्यतिबेला खुबै चल्यो । प्रधानमन्त्री खड्ग ओलीले विभिन्न बहानामा विद्या भण्डारीलाई टिपेर मुलुकको सर्वोच्च स्थानमा पुर्याउँदा वरिष्ठ नेता झलनाथ खनाललगायतलाई गुमाएको प्रसंग पनि धेरै भएको छैन ।
यसरी भुइँको टिप्न खोज्दा खल्तीको समेत गुमाएको पछिल्लो र ताजा उदाहरण भने नेकपा (बहुमत) का अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालसँग जोडिएको छ । उनीहरूले पनि भुइँको टिप्न खोज्दा खल्तीको झारेका छन् । नेकपा विभाजनपूर्व पार्टीभित्र लामो शक्ति–संघर्ष चल्यो । विवाद र संघर्ष बढ्दै जाँदा ‘कोर अफ द लिडरसिप’ भनिएको सचिवालय दुई खेमामा विभक्त भयो । ९ सदस्यीय सचिवालयमा प्रचण्ड, माधवसहित झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एकातिर देखिए ।
प्रधानमन्त्री ओलीसँग आफूसहित ३ जना मात्र रहेको देखियो । महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल मात्र ओलीको पक्षमा दह्रो ढंगले उभिए । सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को भूमिका भने ‘तटस्थ’ थियो । संघर्ष चर्कंदै जाँदा दुवै पक्षका छुट्टाछुट्टै बैठक र छलफल चल्न थाले । बालुवाटार, खुमलटार र भैंसेपाटी छलफलका केन्द्र बने । प्रधानमन्त्री ओलीले ‘पेलेको’ भन्दै बहुमत (पाँच भाइ) को गठबन्धन बलियो बन्दै गयो ।
उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा बसेको एउटा बैठकको चर्चा अहिले पनि हुने गर्छ । कतिपयले उक्त बैठकलाई ‘भैंसेपाटी गठबन्धन’ पनि भन्ने गरेका छन् । गठबन्धन यति बलियो बन्यो कि सचिवालय बैठकअघि कमरेडहरू छुट्टै छलफल गर्न र एकमतसाथ बैठकमा प्रस्तुत हुन थाले । वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेदेखि राष्ट्रियसभामा पठाउनेसम्मको निर्णयमा गठबन्धनको भूमिका निर्णायक थियो भनिन्छ । किनभने, प्रधानमन्त्री ओलीको चाहना र रोजाइमा भने गौतम अन्तिम समयसम्म पनि परेका थिएनन् ।
सधैं ओलीबाट ‘धोका’ खाएका गौतमले एक पटक सार्वजनिकरूपमै भनेका थिए– ‘अब म केपी ओलीको साथ (गुट) मा कहिल्यै रहनेछैन । प्रचण्डको साथ (गुट) मै रहन्छु ।’ तर, त्यत्रो जोडबल गरेर लागेको प्रचण्ड–नेपाल पक्ष त्यतिबेला निराश भयो, जब पार्टी फुट्दाका बखत भने वामदेवले साथ दिएनन् ।
अहिले बादललाई गुमाउनुको कारण पनि वामदेव नै भएको कतिपयको विश्लेषण छ । गौतमका लागि जे पनि गर्न तयार हुनेहरूले आफूलाई भने वास्तासम्म नगरेको र गृहमन्त्रीबाट हटाउन खोजेको बादलको गुनासो छ । त्यही ‘चित्तदुखाइका कारण’ उनी अहिले ओलीतिर लागेको भन्नेहरू पनि छन् ।
बादलले आफूनिकट नेताहरूसँगको कुराकानीमा एउटै क्याबिनेटमा रहेका कारण प्रधानमन्त्रीविरुद्ध जान नमिल्ने तर निर्णायक घडीमा प्रचण्ड–नेपाल पक्षलाई साथ दिने भनेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । ‘वामदेवका लागि आकाशको तारा समेत झार्न तयार हुनेहरूले बादललाई उल्टै मन्त्रीबाट हटाउने कुरा गरेको सुनेपछि उनी बिच्किएका हुन्’– बादलनिकट स्रोतले भन्यो ।
हिजोआज पेरिसडाँडातिर ‘कमरेड’ हरूको कुरा सुनिन्छ– ‘त्यत्रो गर्दा पनि वामदेव कमरेडले देख्नुभएन, उहाँ त बैगुनी पो हुनुहुँदोरै’छ ।’ हुन पनि हो, एक पटक होइन, पटक–पटक नेताहरूले टाउकैमा बोकेका वामदेवले त मौकामा साथ नदिएपछि, बादलको कुरा गर्नु बेकार रहेको नेकपा (बहुमत) कै नेता स्वीकार्छन् ।
त्यसैले अहिले बालुवाटारतिर पनि खुच्चिङको भावमा चर्चा हुने गरेको छ– ‘प्रचण्ड–नेपालले भुइँको टिप्न खोज्दा खल्तीको पनि खसाले ।’ अर्थात्, ‘उनीहरुले वामदेवलाई बोकेर हिँड्दा बादल बिच्किए, उनीहरूको साथमा अहिले न वामदेव छन् न त बादल !’ नेकपाभित्रको च्याँखेदाउमा चलिरहेको जोड–घटाउसम्बन्धी यो खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।