प्रतिपक्षी नेपाल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कामचलाउ सरकारका प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष खड्ग ओली र कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएका अनेकौं साँठगाँठको खुलासा गरिदिएका छन् ।
‘सभापति शेरबहादुर देउवाले ओली समूहसँगै गठबन्धन गर्नुपर्छ भन्नेमा जोड दिएको चर्चा साँचो हो त’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री कोइरालाले खुलस्तै भनिदिएका छन्– ‘त्यस्तै देखिन्छ । शेरबहादुरजीले सिफारिस गरेका व्यक्तिलाई ओलीजीले संवैधानिक आयोगमा ल्याइदिनुभयो । शेरबहादुरजी र ओलीजीमा पहिलादेखि नै सफ्टनेस देखिन्छ । उहाँकी सासू (प्रतिभा राणा) लाई राजदूतबाट अहिलेसम्म हटाइएको छैन, जबकि सँगै राजदूत भएका डा. चोपलाल भुसाललाई हटाइदिए । यसले पनि उहाँहरूबीचको निकटता छ भन्ने देखाउँछ ।’
‘प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा बोल्दै नबोल्नुहोस् भनेर सभापतिजीले तपाईंलाई फकाउनुभएको चर्चा छ नि’ भन्ने अर्को जिज्ञासामा कोइरालाले भनेका छन्– ‘शेरबहादुरजीको धारणा निर्वाचनमा जानुपर्छ भन्ने नै थियो । मैले निर्वाचनभन्दा महत्त्वपूर्ण त संविधान बचाउने हो नि भनें । संविधानलाई बचाउन प्रतिनिधिसभा पुनर्स्थापना हुनैपर्छ भन्ने ‘आर्गुमेन्ट’ मैले राखें । उहाँले हुन्छ अरूसँग पनि छलफल गरौंला भन्नुभयो ।’
‘सभापति त निर्वाचनको पक्षमा निरन्तर लागिरहनुभएको छ, तपाईंले वैशाखमै निर्वाचन हुने सम्भावना कत्तिको देख्नुभएको छ’ भन्ने जिज्ञासामा महामन्त्री कोइराला भन्छन्– ‘वैशाखमै चुनाव हुन्छ भन्ने मलाई लाग्दैन । ओलीले आफू हार्ने चुनाव किन गराउँछन् ? वैशाखमा चुनाव हुन नसक्ने अर्को कारण नेकपा औपचारिक रूपमा फुट्नका लागि पनि समय लाग्ने देखिन्छ । निर्वाचन आयोगले अहिलेसम्म चुनाव चिह्नको विषयमा निर्णय दिएको छैन । जुन बेला आयोगले निर्णय दिन्छ, नपाउने पक्ष फेरि अदालत जाने सम्भावना छ । अदालतमा गयो भने अर्को दुई महिना निर्णय गर्न लाग्छ । अनि कसरी वैशाखमा निर्वाचन हुन्छ ?’
‘तपाईंसँगको भेटमा सभापति (देउवा) जीचाहिँ निर्वाचन हुनेमा कत्तिको ढुक्क देखिनुहुन्थ्यो’ भन्ने प्रश्नमा कोइराला भन्छन्– ‘शेरबहादुरजीले बारम्बार चुनाव हुन्छ भन्नुहुन्छ । उहाँलाई विश्वास छ तर मलाई विश्वास छैन । २०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी हार्छ भन्ने जान्दाजान्दै पनि चुनाव गराउनुभएको थियो । ओलीमा त्यस्तो खालको सोचाइ देखिन्न ।’
कुलचन्द्र न्यौपानेको बाइलाइनमा महामन्त्री कोइरालाको अन्तर्वार्ता बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।