घरबाट भागेर निस्केका पाटन नगरपालिका– ८, बैतडीका देवर–भाउजूको महेन्द्रनगर, कञ्चनपुरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । घरबाट दुई दिनअघि निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुन सक्ने आँकलन गरिएको छ । ‘उपचारकै क्रममा भाउजूको शनिबार साँझ ५ः१५ मा र देवरको राति ११ः३० मा अस्पतालमा मृत्यु भयो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने– ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।’
ती देवर–भाउजू कहाँ जान यहाँ आइपुगे भन्नेबारे खुल्न सकेको छैन । ‘उपचारमा रहेका कोलीले भाउजूले केको पात दिइन्, खाँदा बिरामी परें भन्थे,’ थापाले भने– ‘उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ ।’
दुवैको शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।