वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्ग ओलीबाट गरिएको प्रतिनिधिसभा ‘विघटन’ को सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने– ‘प्रधानमन्त्री ओलीले गर्नु नहुने काम गरेपछि त्यसलाई राष्ट्रपतिले हेर्नुपर्थ्यो ।’
राष्ट्रपति भण्डारीले कुनै पनि प्रकारको छलफल नगरीकन प्रतिनिधिसभा ‘विघटन’ गरेकोप्रति गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले आपत्ति प्रकट गरे । उनका अनुसार प्रतिनिधिसभा ‘विघटन’ को सिफारिस संविधानसम्मत छ कि छैन भन्ने विषयमा राष्ट्रपति भण्डारीले कानुनविद् वा राजनीतिशास्त्रीहरूसँग परामर्श गरेको भए उपयुक्त हुन्थ्यो । उनले भने– ‘अहिले कानुनविद्, पूर्वन्यायाधीश, राजनीतिशास्त्री, नागरिक समाज र मिडिया तहबाट पनि प्रधानमन्त्रीले चालेको कदम संविधानसम्मत छैन भन्ने आइरहेको छ ।’
संविधानमा राष्ट्रपतिको भूमिकाबारे प्रष्ट उल्लेख भएको चर्चा गर्दै पूर्वराष्ट्रपति यादवले भने– ‘त्यो संस्थाले संविधानको पालना गराउने र रक्षा गर्ने हो, राष्ट्रपति आफैंमा संविधानको रक्षक हो; राष्ट्रपतिले नै संविधानको संरक्षण गर्नुपर्छ, संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउनुपर्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको बदमासीप्रति पूर्वराष्ट्रपति रामवरण यादवको टिप्पणीसम्बन्धी यो खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।