नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको दौडधुप पछिल्लो समय बाक्लिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ मा शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीति चलायमान देखिन थालेको हो ।
चीनको उदय र पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आउन खोजिरहेको अवस्थालाई बाइडेन प्रशासनले प्राथमिकतामा राखेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक तथा भूराजनीतिक मामिलाविज्ञ रुपक सापकोटा बताउँछन् । उनका अनुसार नेपाल र नजिकको सम्बन्ध राखिराखेका विश्वभरिकै मुलुकहरुसँग आफूहरु चीनभन्दा बढी लोकतान्त्रिक रहेको सन्देश दिँदै बाइडेन प्रशासनले बढी आर्थिक सहयोगको प्रत्याभूति दिन खोजेको देखिन्छ ।
नयाँ प्रशासन आए पनि हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी चासो अझ बढ्ने देखिन्छ । अमेरिकी राजदूत बेरीको अहिलेको भेटवार्तालाई उक्त हिन्द प्रशान्त राणनीति कार्यान्वयनको एक महत्त्वपूर्ण पक्षका रुपमा हेरिएको छ ।
राजदूत बेरीले आफ्नो भेटवार्तामा जोड दिएको अर्को विषय अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रहेको छ । नेपाल लामो समयदेखि अमेरिकाको प्राथमिकतामा पर्नुको अर्को कारण तिब्बत मामिला समेत रहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।