नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अलग्गिएको ओली समूहले आफ्नो समूहलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने ‘व्यवहार’ का आधारमा सदन चल्न दिने वा नदिने अर्थात ‘निर्णय लिने र कदम चाल्ने’ बारे छलफल गरिरहेको छ । सभामुख सापकोटाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दलको नेताका रुपमा बैठकमा बोलाए त्यो ‘वैधानिक बाटो नहुने’ भन्दै सदन अवरोध गर्ने तयारी सो समूहले गरिरहेको बुझिएको छ ।
‘आइतबारदेखि सदन चल्दैछ, नेकपा औपचारिकरुपमा विभाजन भएको छैन; सभामुखले दलको नेताका रुपमा प्रधानमन्त्री ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्न खोजे त्यसको प्रतिकार गरिनेछ’– ओली समूहका एक सांसदले भने । उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा सभामुखले प्रधानमन्त्री ओलीलाई नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा ओली समूहले त्यसको प्रतिवादमा तयारी थालेको हो ।
‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने– ‘वैधानिक बाटो छाडेर चोर बाटोबाट आउनेहरुलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन ।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।