सर्वोच्च अदालतको ‘फैसला’ ले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री खड्ग ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता पाउन भने निकै ठूलो चुनौती देखिएको छ । ओलीले संसदमा कुनै पनि बेला आफ्नो पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ ।
संसदका अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउनु ओलीलाई प्रमुख चुनौती छ । संविधानविद् डा. विपीन अधिकारी भन्छन्– ‘संसदमा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने, माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठ्यारोमा पर्नेछ ।’
प्रधानमन्त्रीले राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ । सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिकरुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ । सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिने अवस्थामा माओवादी केन्द्र रहेकाले उसको समर्थनविना नै आफूलाई प्रधानमन्त्रीमा कायमै राख्न ओलीले विशेष तयारी गर्नु पर्नेछ ।
कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएमा मात्र सहयोग गर्ने संकेत दिएको छ भने जसपाभित्र दुई धार छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने अवस्था देखिँदैन तर महन्थ ठाकुर समूहले भने ओलीलाई सहयोग गर्न सक्ने संकेत देखिन्छ । ठाकुर समूहले संविधान संशोधन र रेशम चौधरीसहितको मुद्दा फिर्ताको माग सम्बोधन भएमा समर्थन गर्न सक्ने अवस्था देखिएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।