पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री खड्ग ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा जुटेका छन् । पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा ‘विघटन’ गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन् ।
तीन वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत बदर भएपछि प्रधानमन्त्री ओली जनता समाजवादी पार्टी (जसपा) सँगको सहकार्यमा सरकार टिकाउने रणनीतिमा छन् । तर, सरकारको नेतृत्वका विषयमा जसपाभित्र मतभेद बढ्दै जाँदा अहिलेको सरकारका पक्षमा उभिन सक्ने ओलीनिकट नेताहरुको बुझाइ छ ।
महन्थ ठाकुरसहितको एउटा समूह र रेणु यादवसहितको अर्को पक्षलाई पनि आफूतर्फ तान्न ओली पक्ष सक्रिय रहेको निकट स्रोतको दाबी छ । त्यस्तो अवस्थामा एमालेको सहभागिताविना अर्को सरकार गठनको सम्भावना कमजोर हुन्छ । माधव नेपाल पक्षलाई केही समय अल्मल्याएर जसपाको समर्थनमा संसदबाट विश्वासको मत लिने रणनीतिमा ओली छन् ।
प्रधानमन्त्री ओली सके जसपासहितका दलको समर्थनमा आफ्नो सरकारलाई निरन्तरता दिने, नभए ७६ (२) अनुसार एकभन्दा बढी दलको समर्थनमा अर्कालाई प्रधानमन्त्री हुन नदिने रणनीतिमा छन् । ‘संविधानको प्रावधानअनुसार सरकार गठनका सबै प्रक्रिया पूरा गरेर प्रधानमन्त्री ओली मुलुकलाई निर्वाचनमा लैजान चाहनुहुन्छ’– एक नेताले भनेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।