newskoseli.Com

५ लाखमध्ये साढे ३ लाख एमाले कार्यकर्ता माधव–झलनाथतिर !

एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई ‘स्पष्टीकरण’ सोधेपछि नेपाल समूहले आफ्नो पक्षमा रहेका साढे तीन लाख नेता–कार्यकर्तालाई नै कारबाही गर्न चुनौती दिएका छन् । अध्यक्ष ओलीले वैधानिक रूपमा केन्द्रीय कमिटीको बैठक नराखी नेपाल समूहलाई तर्साउने र कारबाही गर्ने नियतले चार नेतालाई स्पष्टीकरण सोधेका छन् ।

ओलीको यस्तो रबैयाबाट रुष्ट नेपाल समूहले आफ्नो साथमा साढे तीन लाख नेता–कार्यकर्ता रहेको भन्दै ती सबैलाई कारबाही गर्न चुनौती दिएको हो । ओली समूहले फागुन २८ मा आफू पक्षीय केन्द्रीय कमिटीको बैठक राखेर कमिटीमा नयाँ सदस्यहरू समेत थप गरी नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेको थियो । माधव नेपाल–झलनाथ खनाल पक्षले त्यो निर्णय अमान्य हुने भन्दै खारेज गर्नुपर्ने, केन्द्रीय कमिटीको नवौं बैठकबाट पार्टीका काम अघि बढाउनुपर्नेलगायत माग राखेकै बेला ओलीले चारजना नेतालाई ‘स्पष्टीकरण’ सोधेपछि विवाद उत्कर्षमा पुगेको छ ।

ओली समूहले फागुन २८ को निर्णय सच्याउन नमानेपछि नेपाल–खनाल पक्षले चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ताको भेला गरेको थियो । भेलाले एमालेभित्रै बसेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेको थियो । त्यसबाट रुष्ट ओलीले नेपालसहित उनी पक्षका नेताहरूलाई तर्साउन ‘स्पष्टीकरण’ सोधेका हुन् ।

नेपाल पक्षले राजनीतिक रूपमै ‘स्पष्टीकरण’ को जबाफ दिने तर ओलीसामु घुँडा नटेक्ने जनाएको छ । वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएका बेला ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई तिलाञ्जली दिएका कारण जबजको असली हकदार उनी नभएको बताइसकेका छन् । नेपालले ‘स्पष्टीकरण’ बाट आफूहरू नतर्सने बताएका छन् ।

आफूनिकट अनेरास्ववियुको भेलालाई मंगलबार सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने– ‘के हामी केपी ओलीका अगाडि घुँडा टेक्ने बाटोमा जाने हो, आत्मसमर्पण गर्ने बाटोमा जाने हो ? कि केपी ओलीको टाङमुनि छिर्ने बाटोमा जाने हो ? यो कुरा हामीलाई किमार्थ मञ्जुर छैन । त्यसकारण हामी केपी ओलीको कथित स्पष्टीकरणबाट तर्सिएका छैनौं, आतंकित भएका छैनौं, केपी प्रवृत्तिविरुद्ध लड्छौं ।’

नेपाल पक्षमा रहेका एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं महाधिवेशनको विधि, विधान र अवस्था हेर्ने हो भने पार्टीका पाँच लाख कार्यकर्तामध्ये साढे तीन लाखभन्दा बढी नेपाल पक्षमा रहेको र त्यसको पुष्टि चैत ४ र ५ को राष्ट्रिय भेलाले पनि गरेको बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर