एकै गाउँका तीन युवक एकै ट्र्याक्टरमा काम गर्थे । चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा–बालुवाको काम गरे । साँझ ट्र्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे । ढुंगा–बालुवा भरिएको ट्र्याक्टर लिएर उनीहरू गल्याङ नगरपालिका– ८, बग्रान्तीतर्फ लागे ।
ट्र्याक्टर गुडिरहेकै बेला एक सहचालक (१९ वर्षे गणेश गाहा) भुइँमा खसेर घाइते भए । त्यसपछि चालकले ट्र्याक्टर फर्काए । घाइते अवस्थामा रहेका गाहालाई ट्र्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्याए । तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
त्यही घटनाका एक आरोपित व्यक्ति हुन्– सहचालक २१ वर्षे सुनील राना । उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्याएकी थिइन् । घटनापछि राना २४ वर्षे चालक अमित परियारको घरमा बसेका थिए । भोलिपल्ट बिहानै परियार बुटवलस्थित ससुराली घरतर्फ लागे, राना भने पाल्पास्थित दिदीको घर पुगे ।
त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो । अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए । उनले दिदीलाई भने– ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फालिदिए ।’ उनी घटना सुनेर झस्किइन् । गाहालाई भाइसरह सम्झिइन् ।
यस्तो घटना लुकाउनु हुँदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन् । त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन् । भाइले गरेको गल्तीको कानुनी उपचार पाउनुपर्छ भन्दै उनी अघि बढेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।