प्रधानमन्त्री खड्ग ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता ‘सुम्पनुपर्ने’ अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–प्रचण्डसँग टाँसिन तयार देखिँदैन । तर, जसपा एकढिक्का छैन ।
राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि समर्थन नजुटे स्वतः संसद् विघटन हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचनको मिति तोक्नेछिन् ।
ओलीले पटक–पटक ‘निर्वाचन नै अन्तिम विकल्प हो’ भनिरहेका छन् । अर्थात्, प्रतिनिधिसभा ‘विघटन’ गरेर गल्ती गरेका थिइनँ भन्ने ओलीलाई देखाउनु छ, त्यो अग्रिम चुनावबाट मात्र सम्भव छ । र, माओवादीले समर्थन फिर्ता लिएपछि मात्रै यो वातावरण बन्छ । त्यही कारण नै प्रचण्डले समर्थन फिर्ता लिन नसकिरहेको र आफूले तत्काल ढाल्न चाहेको सरकारको टेको बनिरहन बाध्य भएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।