प्रधानमन्त्री खड्ग ओलीले सार्वजनिक समारोहहरूमा आफू ‘अब हुने चुनावबाट फेरि बहुमतसहित फेरि सरकारमा फर्कने’ दावी पटक–पटक गर्दै आए छन् । तर, उनकै समूहका नेता–कार्यकर्ता संगठित मदन भण्डारी फाउण्डेशनले भने त्यो कुरा सत्य नभएको ठहर गरेको छ ।
बालुवाटारनिकट एक पूर्वमन्त्रीले बताएअनुसार देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आफ्नासहित विपक्षीहरूबीच गरिएको सर्वेक्षणले पार्टी टुक्रिएर चुनावमा गए पनि हदै ठूलो सफलता मिले मुस्किलले लार्जेस्ट पार्टी, नत्र ‘ढुक्कसँग प्रतिपक्षी’ का रूपमा मात्रै आउन सकिने ठहर गरेको छ । कुन क्षेत्रमा कति मतदाता छन् ? तीमध्ये आफूतिर कति, माधव पक्षमा कति, कांग्रेस, जसपासहितका अन्य दलसँग कति छन् ? पहिलेको मतान्तर कति ? अब माओवादी र माधव खेमाले काट्ने कति ? अंककै आधारमा उसले एउटा ‘गोप्य प्रतिवेदन’ तयार पारेको बताइन्छ । त्यस प्रतिवेदनमा नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बन्ने र दोस्रोमा आफूहरू आउने निश्कर्ष उल्लेख छ ।
तर, अचम्मचाहिँ के छ भने हुँदाखाँदाको पहिलो पार्टीबाट आफू दोस्रो पार्टी बन्नका लागि प्रधानमन्त्री ओली किन चुनावतिर जोड गर्दैछन् ? पार्टी ब्युँतिने गरी भएको सर्वोच्च अदालतको दोस्रो फैसलापछि माधव नेपाल–झलनाथ खनालसहितका नेतालाई उनले मिलाउन सक्नुपर्थ्यो । तर, मिल्ने बाटोमा जान्छौँ भन्दा पनि ठीक उल्टो गरी माधव–झलनाथलाई किनारा पार्ने योजना ओलीले बुन्न थाले ।
बरु, महाधिवेशनमा एकपल्ट फेरि आफैं अध्यक्ष उठ्ने र अर्को चुनावबाट प्रधानमन्त्री समेत बन्ने ध्याउन्नमा छन् ओली । त्यसैले पार्टीभित्र उनले कुनै उत्तराधिकारी तयार पारेका छैनन् । फाउण्डेशनको सर्वे नतिजा जस्तोसुकै भए पनि अन्ततः चुनावमा जानैपर्छ, परिणाम त्यति खराब हुँदैन भन्ने बुझाइमा छन् ओली ।
अर्कातिर, अहिलेका राजनीतिक घटनाक्रममा मधेस आधारित राजनीतिक दलहरू फरक–फरक बुझाइमा भेटिएका छन् । जनता समाजवादी पार्टीका महन्थ ठाकुर–राजेन्द्र महतोहरू खड्ग ओली सरकारको निरन्तरतामा आफ्नो फाइदा देख्छन् भने उपेन्द्र यादवहरूचाहिँ अहिले पनि ‘प्रधानमन्त्री मानसिक रूपमै समस्याग्रस्त रहेको’ ठान्छन् । अनि, नेपाली कांग्रेस त्यसबेला बल्ल अविश्वासको प्रस्ताव दर्ता गर्नेमा पुग्छ, जब सरकार बनाउने र अहिलेको सरकार ढल्ने पक्कापक्की हुन्छ ।
त्यस्तै, सरकारमाथि विश्वासको मत फिर्ता लिने माओवादीको कुरा पनि त्यस्तै अन्यौलग्रस्त छ । प्रधानमन्त्रीले ‘विश्वासको मत फिर्ता लिए राजीनामा दिन्छु’ भन्नुलाई कतै फेरि पनि पुस ५ को झैं संसद ‘विघटन’ गरेर अर्को वितण्डा मच्चाइदिन्छु भनिएको त होइन भन्ने आशंकामा माओवादी छ । अर्थात्, ‘भैंसी देखेर जोगी, जोगी देखेर भैंसी तर्सिएजस्तो’ स्थिति रहेको खबर बुधबारको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।